
काठमाडौं । राष्ट्रियसभाका सदस्य डा. खिमलाल देवकोटाले शेरबहादुर देउवा अदालतको परमादेशले नभई जनताको जनादेशबाट नियुक्त प्रधानमन्त्री भएको बताएका छन् ।
बुधबार सामाजिक संजालमार्फत देवकोटाले जनताको अभिमतबाट निर्वाचित १४९ सांसदहरु श–शरीर राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीमा नियुक्तिका लागि दावी गर्दा राष्ट्रपतिले संसद विघटनका कारण न्यायका लागि अदालत गएकाले त्यसलाई अदालतको परमादेशले भन्न नमिल्ने बताएका हुन् ।
उनले अदालतले जनताको जनादेशबाट निर्वाचित सांसदको पक्षमा फैसला गर्दा कसरी अदालतको परामादेश हुन्छ ? भन्दै प्रश्न गरेका छन् ।
उनले भनेका छन्, ‘मेरो विचारमा देउवा अदालतको परमादेश नभई जनताको जनादेशबाट नियुक्त प्रधानमन्त्री हुन् । जनताको अभिमतबाट निर्वाचित १४९ सांसदहरु श–शरीर राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीमा नियुक्तिका लागि दावी गर्दा राष्ट्रपतिले संसद विघटनका कारण न्यायका लागि अदालत गएका हुन् । अदालतले जनताको जनादेशबाट निवार्चित सांसदको पक्षमा फैसला गर्दा कसरी अदालतको परामादेश हुन्छ ?’
आफ्नो विदाइ सम्बोधनका क्रममा मंगलबार निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जनादेशबाट विदाई नभई अदालतको परमादेशबाट विदा हुन लागेको बताएका थिए ।