
पाकिस्तानका लागि अफगानिस्तानका राजदूतकी छोरीलाई हमलाकारीले अपहरण गरेर घाइते बनाइदिएको अधिकारीहरूले बताएका छन् । पाकिस्तानको राजधानी इस्लामावादमा सिलसिला अलिखिल शुक्रबार केही घण्टा अपहरणकारीको कब्जामा परेकी थिइन् ।
अफगानिस्तानको विदेश मन्त्रालयले भनेको छ राजदूतकी छोरीलाई चरम यातना दिइएको थियो र उसले त्यसबारे असन्तुष्टि दायर गर्नेछ । दुई देशबीचको सम्बन्ध लामो समयदेखि तनावयुक्त छ । पाकिस्तानी अधिकारीहरूका अनुसार २० वर्षकी सिलसिला अलिखिललाई उनी यात्रा गरिरहेकै कारमा प्रवेश गरेर आक्रमणकारीले पिटेका थिए ।
अपहरणमुक्त भएपछि उनको एउटा अस्पतालमा उपचार गरिएको थियो । राजदूत नजिब अलिखिलले अमानवीय आक्रमणको भत्र्सना गर्दै अहिले उनकी छोरीको अवस्था ठीक हुँदै गएको बताए । अफगान विदेश मन्त्रालयले आफ्नो गम्भीर चिन्ता व्यक्त गर्दै पाकिस्तानलाई कुटनीतिज्ञ र उनका परिवारको सुरक्षा सुनिश्चित गर्न भनेको छ ।
राजदूतको सुरक्षा व्यवस्था कडा बनाइएको पाकिस्तानको विदेश मन्त्रालयले बताएको छ । पाकिस्तानका आन्तरिक मन्त्री शेख रशिद अहमदले प्रधानमन्त्री इमरान खानले दोषीलाई तत्काल पक्राउ गर्न चाहेको बताएका छन् ।
अफगानिस्तानमा हिंसा बढिरहेका बेला पछिल्ला हप्तामा दुई देशबीचको सम्बन्ध झन् बिग्रँदै गइरहेको छ । अफगान सरकारले पाकिस्तानले अफगानिस्तानभर विद्रोह गरिरहेका तालिबान लडाकुलाई सुरक्षित स्थान उपलब्ध गराएको आरोप लगाउँदै आएको छ ।
तालिबान लडाकुहरूले देशभरमा उसको नियन्त्रण बढाउँदै लगेको छ भने थुप्रै सीमा चौकीमा कब्जा जमाउँदै गएको छ । अमेरिकाले आफ्ना सुरक्षाकर्मी ११ सेप्टेम्बर अगावै अफगानिस्तानबाट फर्काउने भनेपछि अफगानिस्तानमा तालिबानी प्रभाव बढ्दै गएको छ ।
अमेरिकाका अरू सहयोगी मुलुकहरू वेलायत लगायतले आफ्ना सबै सुरक्षाकर्मीलाई देश फर्काइसकेका छन् । पाकिस्तानले भने उसको भूमिबाट लडाकुहरूलाई आक्रमण गर्न दिएको भन्ने आरोप अफगानिस्तानमाथि लगाउने गरेको छ।