
काठमाडौं । पेशेवर रूपमै मोटरसाइकल चोरी गर्ने एक जनालाई दुई वटा मोटरसाइकलसहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ ।
सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले भक्तपुर, कौशलटारबाट बा ९५ प २३३ नम्बरको केटिएम डुक २०० सिसीको मोटरसाइकललाई विना साँचो डाईरेक्ट स्टार्ट गरी चलाइरहेको अवस्थामा दोलखा घर भएका वर्ष १९ को विज्ञान भुजेललाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको छ ।
उक्त मोटरसाइकल हिजो आइतबार विहान ८ः३० बजे भक्तपुर सानोठिमीबाट हराएको भनी बैदेश्वर गाउँपालिका – ३, दोलखा घर भएका कृष्ण कार्कीले महाशाखामा जानकारी गराएका थिए । चोरी भएको सुचना प्राप्त हुनासाथ ट्राफिक महाशाखाको सादा पोसाकको टोलीले आइतबार दिउँसो ३ बजे नै उक्त मोटरसाइकल सहित १ जनालाई नियन्त्रण लिन सफल भएको छ ।
नियन्त्रणमा लिई थप अनुसन्धान र सोधपुक्ष पश्चात बा ८३ प ३३४५ नम्बरको २०० सिसी एनएस रातो पल्सर मोटरसाइकल समेत कौशलटारबाट बरामद गरेको छ । उक्त मोटरसाइकल यही जेष्ठ १० गते बालकुमारी, ललितपुरबाट हराएको भनी गोदावारी नगरपालिका वडा नम्बर– ६, टिकाभैरव घर भएका लक्ष्मण रानाले हुलिया निवेदन महाशाखामा दिएका थिए ।
पक्राउ परेका व्यक्तिलाई मोटरसाइकलसहित चोरी मुद्दामा अनुसन्धान कारबाहीका लागी महानगरीय प्रहरी बृत्त, ठिमीमा बुझाएको छ ।
पछिल्लो समय उपत्यकाके बिभिन्न स्थानहरूबाट चोरी भइ हराएका मोटरसाइकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निगरानी राखी विशेष कारबाही अभियान ट्राफिक महाशाखाले निरन्तर रूपमा चलाइराखेको छ ।