काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षका सांसदहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गलत प्रवृत्ति त्याग्न सुझाव दिएका छन् । मंगलबार बसेको नेपाल पक्षका सांसदहरुको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । बैठकमा समसामयिक विषयका साथै आफ्नो पक्षमा सांसदको संख्या बढाउने भन्ने विषयमा छलफल भएको सांसद विरोध खतिवडाले जानकारी दिए ।
उनले आफूलाई अदालतले पनि साथ दिइरहेको र जहिल्यै सत्यको बाटोमै हिँडेको बताए । आफूहरु विधिसम्मत बाटोमा हिँडेको तथा आफ्ना माग र मुद्दा स्थापित भइरहेका भन्दै खतिवडाले केपी ओलीले आफ्नो गलत प्रवृत्तिमा सुधार नल्याएसम्म विवाद रहिरहने बताए ।
त्यसैगरी सांसद रामकुमारी झाँक्रीले आजको बैठकमा प्रतिनिधिसभाको विघटनदेखि पुनस्र्थापनासम्मको भूमिकाबारे छलफल भएको जानकारी दिइन् । उनले पार्टी एकता गर्ने हो भने अध्यक्ष ओलीलाई अध्यक्ष छाड्न सुझाव दिइन् । उनले ओलीले पार्टी अध्यक्ष छाडे पार्टी एकताबद्ध हुने र पार्टी नयाँ ढंगबाट अघि बढ्ने बताइन् । उनले पटक पटक बदला लिने काम गरिरहेको भन्दै हामीहरुसँग बदला लिएर केही नहुने बताइन् ।
सरकारमा जाने कुरा आफूहरुको एजेण्डा नभएको र आफ्नो पार्टी विपक्षमा भएकोले सरकारमा नजाने बताइन् । उनीहरुले एमाले केन्द्रीय कमिटी बैठकले २२ जनालाई २४ घण्टे स्पष्टिकरण सोधेको बताएपनि आफूहरुले अहिलेसम्म पत्र नपाएको बताएका छन् ।