काठमाडौं । टोकियो ओलम्पिकमा नेपालकी एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीको पराजयसँगै ओलम्पिक यात्रा सकिएको छ । एथलेटिक्सको शुक्रबार विहान भएको १०० मिटरको महिला दौड प्रतिस्पर्धामा नेपालकी सरस्वती चौधरीले यसअघि साफमा आफैंले बनाएको कीर्तिमान समेत कायम राख्न सकिनन् । छनौट चरणको ९ जना सम्मिलित प्रतिस्पर्धामा सरस्वती आठौं भएकी थिइन् ।
साफको महिला १०० मिटर दौडमा उनको रेकर्ड १२.५५ सेकेण्ड रहेकोमा आज १२. ९१ सेकेण्ड सो दुरी पार गरेकी थिइन् । छनौट चरणमा उनले तेश्रो स्थानसम्म कायम गर्न सकेको भए प्रतिस्पर्धाको सेकेण्ड हिटमा मौका पाउने थिइन् । ३२ औं गृष्मकालिन ओलम्पिकमा नेपालका ५ जना खेलाडीले स्विमिङ , जुडो, सुटिङ र एथ्लेटिक्स गरी ४ खेलमा सहभागिता जनाएका थिए ।
स्विमिङ पुरुषतर्फ एलेक्स शाह बाहेक अन्य खेलाडीले खासै प्रगित हासिल गर्न सकेनन् । स्विमिङमा एलेक्सले विगतको आफ्नै कीर्तिमान तोडेका थिए । तीन खेलाडीले युनिभर्सियालियाटी कोटा अन्तरगत र दुई खेलाडीले वाइल्ड कार्डमार्फत सहभागिता जनाउने अवसर पाएका हुन् । नेपाली एथ्लेटिक्स खेलाडी सरस्वती चौधरी पनि आउट भएपछि टोकियो ओलम्पिकमा नेपाली खेलाडीहरुको प्रतिस्पर्धा सकिएको छ ।