अफगानिस्तानमा तालिबानले प्रमुख सहर कब्जा गर्न खोजेपछि हिंसात्मक द्वन्द्व

Spread the love

अफगानिस्तानको दक्षिणी र पश्चिमी भागमा रहेका तीन मुख्य सहरहरूमा तालिबानको आक्रमणले द्वन्द्व चर्किएको छ । सरकारी फौजबाट नियन्त्रण खोस्ने प्रयासमा तालिबान लडाकुहरू हेरात, लश्कर गह र कान्दहारभित्र प्रवेश गरेका छन् । सेप्टेम्बरको अन्त्यसम्म लगभग सबै विदेशी फौजले अफगानिस्तान छोड्ने घोषणा भएका कारण उनीहरूले ग्रामीण क्षेत्रमा सजिलै नियन्त्रण जमाउँदै लगेका छन् ।

तर यी तीन सहरहरूको द्वन्द्व सरकारी फौजको परीक्षण हुने र मानवीय सङ्कट आउन सक्ने कारण महत्त्वपूर्ण रहेको बताइएको छ । तालिबालले पाकिस्तान र इरानका महत्त्वपूर्ण सीमासहित अफगानिस्तानको आधा भूभाग नियन्त्रणमा लिएको मानिएको छ ।

लश्कर गहमा शनिवार तालिबान गभर्नरको कार्यालयबाट केही सय मिटरको दूरीमा पुगेको तर राति सरकारी फौजले पछाडि धकेलेको बताइएको छ । तालिबानले त्यहाँ गभर्नरको कार्यालय कब्जा गर्न खोजेको यो दुई दिनमा दोस्रो पटक हो। अफगान फौजका कमान्डरले शुक्रवार तालिबान लडाकुतर्फ उल्लेख्य क्षति पुर्याएको दाबी गरेका थिए ।

लडाकुहरूले आम नागरिकका केही घरलाई कब्जा गरेका कारण उनीहरूलाई लखेट्न गाह्रो हुने र अझ हिंसात्मक द्वन्द्वको सम्भावना रहेको छ । कान्दहारका एक सांसदले बीबीसीलाई उक्त सहरमा तालिबानले कब्जा गर्ने जोखिम रहेको बताउँदै हजारौँ मानिसहरू घर छोडेर हिँडेको र मानवीय सङ्कट आउने बताए ।

गुल अहमद कामिनले अवस्था प्रत्येक घण्टा खराब बन्दै गइरहेको बताउँदै सहरभित्रको द्वन्द्व गएको २० वर्षमा सबैभन्दा खराब भएको बताए । उनले तालिबानले कान्दहरलाई अस्थायी राजधानी बनाउन चाहेको बताउँदै त्यो सहर तालिबानको कब्जामा गए अन्य पाँच वा छ प्रान्त पनि उनीहरूले नियन्त्रणमा लिने बताए ।

सहरका थुप्रै प्रवेश बिन्दुमा तालिबान रहेको र उनीहरू सहरभित्र प्रवेश गर्न सक्षम भएको अवस्थामा नागरिकको ज्यान जोखिममा पार्ने गरी सरकारी सेनाले ठुला हतियार प्रयोग गर्न नसक्ने बताए ।

आर्थिक हिसाबले महत्त्वपूर्ण हेरातमा दक्षिणी भागमा तालिबान प्रवेश गरेपछि द्वन्द्व चर्किएको टोलो न्यूजले जनाएको छ । त्यहाँ कम्तीमा पाँच स्थानमा गोली हानाहान भइरहेको बताइएको छ । अमेरिकी सेनाले अफगान सेनालाई सहयोग पु¥याउन हवाई आक्रमण गरेको र सरकारी सेनाले विमानस्थल नजिकैको जिल्लालाई पुनः नियन्त्रणमा लिएको बताइएको छ।

शुक्रवार हेरातको विमानस्थल नजिकै संयुक्त राष्ट्रसङ्घको परिधिबाहिर एक सुरक्षाकर्मी मारिएका थिए। सो घटनालाई राष्ट्रसङ्घले तालिबानले जानीजानी गरेको आक्रमण बताएको छ ।

अफगानिस्तानका लागि युरोपेली युनियनका विशेष दूत टोमस निकलासनले युद्ध खराब भएको आफूलाई लागेको बताएका छन् । उनले तालिबानहरू विगतमा जस्तै इस्लामिक राज्य खडा गर्नेबारे सोचिरहेको भन्ने डर लागेको बताएका छन् । ब्रिटिस सशस्त्र बलका पूर्वप्रमुख जेनरल डेभिड रिचार्ड्सले अन्तर्राष्ट्रिय सैनिक फिर्ता भएपछि अफगान सेनाको मनोबल गिर्ने र तालिबानले अफगानिस्तानलाई नियन्त्रणमा लिने खतरा रहेको बताए ।

अमेरिकी नेतृत्वमा तालिबानलाई सन् २००१ को नोभेम्बरमा सत्ताच्यूत गरिएको थियो। तालिबानले सेप्टेम्बर ११ मा अमेरिकामाथि आक्रमण गरेको अल कायदाका ओसामा बिन लादेन र अन्य प्रमुख नेताहरूलाई शरण दिएको कारण आक्रमण गरिएको थियो ।

तर अन्तर्राष्ट्रिय सेनाको लगातार उपस्थिति, अफगान सेनाको सहयोग र तालिममा खर्च गरिएको करोडौँ डलरका बाबजुद तालिबान पुनः शक्तिशाली भएर निस्केको छ । सन् २०२० मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र अन्य सहयोगी देशहरू तालिबानसँग सहमति गरेर सेना हटाउन राजी भए । त्यही वर्ष राष्ट्रपति जो बाइडनले सन् २०२१ को सेप्टेम्बरमा अफगानिस्तानबाट सेना हटाउने घोषणा गरे।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोभिड नियन्त्रणका लागि जापानमा अगष्ट ३१ सम्म स्वास्थ्य सङ्कटकाललाई निरन्तरता

२०७८ श्रावण १७, आईतवार १०:२७
Spread the loveजापानले टोकियो, साइतामा, चिबा, कानागावा, ओसाका र ओकिनावा प्रिफेक्चरहरूमा कोरोनाभाइरस सङ्क्रमण दर बढेको भन्दै सरकारले स्वास्थ्य सङ्कटकालको अवस्था जारी रहेको प्रधानमन्त्रीको कार्यालयले जानकारी गराएको छ । त्यस्तै सरकारले होक्काइदो, इशिकावा, क्योटो, ह्योगो र फुकुओका प्रिफेक्चरमा अगस्त ३१ सम्मका लागि सङ्क्रमण नियन्त्रणका उपायस्वरूप विभिन्न प्रतिबन्धहरूको घोषणा गएिको सामाजिक सञ्जाल […]