
काठमाडौं । सर्वाेच्च अदालतले लुम्बिनी प्रदेश सभाका सदस्यद्वय दधिराम न्यौपाने र दिनेश पन्थीलाई हटाउनुको कारण मागेको छ । एमाले प्रवेश गरेपछि प्रदेश सभा सदस्यबाट पदमुक्त गरिएका न्यौपाने र पन्थीले आफूहरुलाई बिनाकारण हटाइएको भन्दै पुनर्बहालीको मागसहित सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
निवेदकहरुले नेकपा माओवादी केन्द्र, लुम्बिनी प्रदेश प्रदेश सभा सचिवालय, लुम्बिनी प्रदेशका सभामुख र निर्वाचन आयोगलाई विपक्षी बनाइ पुनर्बहालीको मागसहित निवेदन दिएका थिए ।
आइतबार भएको प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भटराईको इजलासले उनीहरुलाई हटाउनुको कारणको मागसहित भदौ ८ गते दुवै पक्षलाई बोलाएको निवेदकका कानुन व्यवसायी ईश्वरी भट्टराईले बताए ।
न्यौपाने र पन्थीले आफूहरुलाई नेपालको संविधान र नेकपा माओवादी केन्द्र संसदीय दलको विधान विपरीत हटाइएको भन्दै साउन ७ गते सर्वोच्च अदालतमा निवेदन दिएका थिए । माओवादी केन्द्रको पत्रको आधारमा सभामुख पूर्णबहादुर घर्तीले चैत २३ मा उनीहरुलाई निलम्बन गर्दै पद रिक्त भएको जानकारी दिएका थिए ।