काठमाडौं । नेकपा एमालेले साउन २७ गतेभित्र पार्टी सदस्यताको नविकरण र अद्यावधिक गरिसक्ने निर्णय गरेको छ । आइतबार तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको पार्टी स्थायी कमिटी बैठकले पार्टी सदस्यताको नविकरण र अद्यावधिक गर्ने समयसीमा तोकेको महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।
महासचिव पोखरेलले असोज ३ गते वडा तहको अधिवेशन गर्ने र असोज ९ गते पालिकास्तरको अधिवेशन गरिने पनि बताए । विधान अधिवेशनको सम्बन्धमा थप निर्णय गर्नका लागि केन्द्रीय कमिटीको बैठक साउन २४ गते बोलाइएको उनले बताए ।
उनले भने, ‘देशव्यापी रुपमा असोज ३ गते वडा तहको अधिवेशन गरीसक्छौँ र असोज ९ गते हामी पालिका स्तरको अधिवेशन गरीसक्छौँ । यो पनि निर्णय भएको छ । र विधान अधिवेशन सम्बन्धमा अरु टुंगो गर्नका लागि केन्द्रीय कमिटीको बैठक साउन २४ गते बस्दैछौँ ।’ एमाले स्थायी कमिटी बैठक सोमबार पनि बस्नेछ ।