काठमाडौँ । सरकार संचालनक लागि सत्तारुढ गठबन्धनको कार्यदलले तयार गरेको सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको छ । आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सत्ता गठबन्धनमा रहेका शीर्ष नेताहरुको उपस्थितिमा गठबन्धन सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।
न्यूनतम साझा कार्यक्रम कार्यदलका संयोजक तथा काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेका थिए । कार्यक्रममा सरकारको प्रमुख प्राथमिकतामा रहेको कोरोना रोकथाम र नियन्त्रणका विषयलाई मुख्यरूपमा समेटिएको छ ।
स्वास्थ्य सामग्रीमा भएको अनियमतिता छानबिन गर्ने, विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्ने, शान्ति सुरक्षा कायम गर्ने, निजामती सेवा र कर्मचारीको पुनर्संरचना गर्ने, प्रशासनिक सुधार गर्ने, शान्ति प्रक्रियालाई पूर्णता दिने लगायत समेटिएको छ । गठबन्धनलाई कसरी दिगो बनाउने भन्ने विषय पनि प्रतिवेदनमा समावेश गरिएको छ ।
वर्तमान सरकारमा मन्त्रीले पालना गर्नुपर्ने आचारसंहितालाई समेत प्रतिवेदनमा समावेश गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का संयोजक रहेको सात सदस्यीय कार्यदलले उक्त प्रतिवेदन तयार पारेको हो ।