कोरोनाभाइरसका कारण चीनले ठूलामध्ये एउटा कार्गो बन्दरगाह आंशिक रूपमा बन्द गर्दा विश्व व्यापारमा त्यसले पार्ने असरलाई लिएर नयाँ चिन्ता शुरू भएको छ । एकजना कामदार कोभिड–१९ को डेल्टा भेरिअन्टबाट सङ्क्रमित भएको पुष्टि भएपछि बुधवार निङ्गबाओ–जोसान बन्दरगाहका सेवाहरू बन्द गरिएको हो ।
पूर्वी चीनमा अवस्थित उक्त बन्दगाह विश्वकै तेस्रो धेरै व्यस्त कार्गो बन्दरगाह हो । क्रिस्मसका लागि गरिने किनमेलअगाडि उक्त बन्दगाहका सेवा बन्द हुँदा आपूर्ति प्रणाली थप अवरुद्ध हुने खतरा उत्पन्न भएको छ । मेशान द्वीपमा रहेको उक्त बन्दगाहको टर्मिनल अर्को सूचना जारी नभएसम्म बन्द गरिएपछि एक चौथाइले कन्टेनर कार्गो सेवा कटौती भएको छ ।
चीन र दक्षिण पूर्व एशिया तटबाट अमेरिकाको पूर्वी तटतर्फ पानीजहाजबाट सामान ओसारपसार गर्दा लाग्ने खर्च कीर्तिमानी स्तरमा पुगेका विवरणबीच पछिल्लो समाचार आएको हो । वेलायतका कतिपय व्यापारीले पहिल्यैदेखि सामान ओसारपसार गर्दा बढेको खर्चको दबाव महसुस गरिरहेका छन् ।
असन शिपिङ्ग कन्सलट्यान्ट्सका जेसन चिआङ्गले विश्वव्यापी शिपिङ्ग उद्योगले कैयौँ महिनासम्म महामारीको असर झेल्ने देखिएको बताए । साङ्घाई र सिङ्गापुरपछि निङ्गबाओ–जोसान विश्वको ठूलो बन्दरगाह हो ।
त्यसका टर्मिनलहरू लामो समयसम्म बन्द रहे भने विश्वको अर्थतन्त्रमा ठूलो असर पर्नेछ । बन्दरगाह रहेको निङ्गबाओ शहरका अधिकारीहरूले त्यहाँबाट चिनियाँ राजधानी बेइजिङ्ग जाने र बेइजिङ्गबाट आउने हवाई उडानहरू पनि बन्द गराएका छन् ।
निङ्गबाओ–जोसान बन्दरगाहसँग जोडिएको एउटा जिल्लामा आंशिक लकडाउन गरिएको छ जहाँ सिनेमाघर, व्यायामशाला तथा बारहरू बन्द गराइएका छन् । वर्षको उत्तराद्र्धतिर युरोप र उत्तर अमेरिकामा क्रिस्मस र अरू बिदाहरू अगाडि हुने उच्च व्यापारका लागि तयारी भइरहँदा उक्त चिनियाँ बन्दगाहका सेवा बन्द भएको छ।
पछिल्ला महिनाहरूमा कोरोनाभाइरस सम्बन्धित कारणले चिनियाँ बन्दगाह बन्द भएको यो दोस्रो घटना हो । यसअघि गत मे महिनाको अन्त्यतिर अर्को बन्दरगाह कैयौँ हप्ताका लागि बन्द गराइएको थियो ।
कोभिड महामारीले विश्वभरि आर्थिक गतिविधि अवरुद्ध भएपछि कम्पनीहरूले सामान जुटाउन अझै सङ्घर्ष गरिरहेका छन् । यसअघि गत मार्च महिनामा सूइज नहरमा विशाल मालवाहक पानीजहाज अड्किँदा विश्व आपूर्ति प्रणालीमा ठूलो असर परेको थियो । एभरगिभन पानीजहाजका कारण उक्त जलमार्ग करिब एक साता अवरुद्ध हुँदा सूइज नहरमा संसारकै सबैभन्दा महँगो ट्राफिक जाम भएको थियो।