काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म हुने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले भदौ १८ गतेबाट वडास्तरको अधिवेशन सुरु गर्दै मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।
नयाँ कार्यतालिकाअनुसार क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने मिति भदौ २ गते रहेको छ भने निर्वाचन निर्देशिका बुझाउने मिति पनि भदौ २ गते नै तोकिएको छ । वडा अधिवेशन भदौ १८ र गाउँ नगरपालिको अधिवेशन भदौ २७ गतेका लागि तोकिएको छ ।
त्यसैगरी प्रदेशको क र ख क्षेत्रको अधिवेशन असोज १ गते हुनेछ भने संघीय क्षेत्रको अधिवेशन असोज ५ गतेका लागि तय गरिएको छ । जिल्लाको अधिवेशनको असोज १० गते हुनेछ भने प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म हुनेछ । केन्द्रीय महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म हुनेछ ।