काठमाडौं । नेकपा माओवादी केन्द्रले अझै पनि प्रतिगमनको खतरा कायमै रहेको निष्कर्ष निकालेको छ । दुई दिनसम्म चलेको केन्द्रीय समिति बैठकले प्रतिगामी कदम असफल भए पनि प्रतिगामी खतरा भने अन्त्य नभइसकेको निष्कर्ष निकालेको हो ।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिगमनको खतराप्रति सचेत हुँदै संविधान तथा लोकतन्त्रको रक्षा र कार्यान्वयनको प्रक्रियामा अगाडि बढ्नुपर्छ भन्ने बैठकको निष्कर्ष रहेको जानकारी दिए ।
त्यस्तै बैठकले सरकार र प्रतिनिधिसभालाई पूर्ण कार्यकालमा सञ्चालन गर्दै सफल पार्न पनि अपील गरेको छ । बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित भएको छ । बैठकले आगामी पुस दोस्रो साता पार्टीको राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।
बैठकको समापन अघि समूहगत छलफल गरेर आएको सुझाबलाई समेटेर विभिन्न प्रतिवेदनहरू पारित भएका थिए । समापन बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीलाई विचार र क्रान्तिकारी रुपान्तरण गर्न सहयोग पुर्याउन संश्लेषण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।
यस्तै बैठकले अफगानिस्तानमा रहेका नेपालीहरूको जीवन रक्षा र आवश्यक सहयोग गर्न सरकारले तत्काल पहल गर्न माग पनि गरेको छ ।