भड्किलो र खर्चिलो तरिकाले तीज नमनाउन राष्ट्रपतिको आग्रह

Spread the love

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजले समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सुत्रमा आबद्ध गर्न सहयोग गर्ने बताएकी छिन् ।

हरितालिका तिज २०७८ का अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले तिज पर्वले चेली–माइती, साथी–सङ्गी, परिवार एवं आफन्तजनबीचको सम्बन्धलाई प्रगाढ बनाउने बताएकी छिन् । उनले तीज पर्वको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने भड्किलो र खर्चिलोपनलाई हटाउँदै जानु आवश्यक रहेकामा जोड दिएकी छिन् ।

“सांस्कृतिक र धार्मिक पर्वका रूपमा हरितालिका तीजको नेपाली समाजमा महत्त्वपूर्ण स्थान रहेको छ, भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइने यस पर्वमा आफ्नो र आफ्नो परिवारजनको कल्याणको लागि तृतीयाका दिन शिव–पार्वतीको र पञ्चमीका दिन सप्तऋषिको पूजा, उपासना गर्नाले मनोकामना पूरा हुने विश्वास रहिआएको छ”, उनले सन्देशमा भनेकी छिन्, “विवाहपश्चात् महिलाहरू आफ्नो जन्मघर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाजलाई छोडेर कर्मघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरका रूपमा समेत तिज पर्वलाई महिलाहरूले लिएको पाइन्छ  ।”

राष्ट्रपतिले तीजले समाजमा विद्यमान महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र असमानताको अन्त्य गर्दै सभ्य, समतामूलक एवं प्रगतिशील समाजको निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गरेकी छिन् । उनले कोभिड–१९ संक्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्डको पालना गर्न पनि सबैमा आह्वान गरेकी छिन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मौलिकताको जगेर्ना गर्दै तीज मनाउन प्रधानमन्त्रीको आग्रह

२०७८ भाद्र २४, बिहीबार ०८:५३
Spread the loveकाठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सद्भावसहितको सांस्कृतिक पर्व हरितालिका तीजका अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमार्फत तीजले नेपाली समाजमा विद्यमान लैङ्गिक जातीय वर्गीय विभेद र सबै किसिमका असमानता अन्त्य गर्दै सामाजिक सद्भाव, सहिष्णुता र मेलमिलाप बढाई समुन्नत समाजको निर्माणमा अभिवृद्धि […]

समाचार छुट्याे की?