पूर्वसुरक्षाकर्मी परिषद नेपालले भव्यताका साथ मनायो ३०० औं पृथ्वी जयन्ती

Spread the love

काठमाडौं । पूर्वसुरक्षाकर्मी परिषद् नेपालले राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको ३०० औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाएको छ । नेपाल आमाको रक्षार्थ विरगती प्राप्त सपूतहरुमा श्रद्धासुमन व्यक्त गरी शुरु भएको कार्यक्रममा राष्ट्र निर्माताको तस्विरमा फूलमाला र अविर चढाउदै उनका दिव्योपदेशहरु स्मरण गरिएको थियो ।

नेपालको भूगोल र भूराजनीतिक अवस्थितिको परिप्रेक्ष्यमा दिव्योपदेशहरु दूरदर्शी, सान्दर्भिक र उपयोगी रहेको मन्तव्य वक्ताहरुले राखेका थिए । यसै क्रममा पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवालले मातृभूमिप्रति आफ्नो कर्तव्य भूल्न नहुने भन्दै गलत राजनीतिक अभ्यासको कारण जर्जर भएको देश बचाउन सबै अंगका सुरक्षाकर्मीहरु राष्ट्र रक्षाको लागि परिषद्मा एकताबद्ध हुन र आगामी दिनमा आइपर्ने चुनौती सामना गर्न तत्पर हुनुपर्ने बताए ।

नेपाल प्रहरीका पूर्वप्रहरी वरिष्ठ उपरीक्षक लब बिष्टले अहिलेका राजनीतिक दलहरुले पृथ्वीनारायण शाहलाई सम्मान गर्न कन्जुस्याइँ गरेको भन्दै उनीहरुलाई राष्ट्रपिताको योगदानको अवमूल्यन गर्ने अधिकार नभएको बताए ।

यसैगरी, भारतीय पूर्वसैनिक कल्याणकारी संघका अध्यक्ष डा.लक्ष्मीकान्त पाण्डेले साना साना संस्था खोलेर कसैको लगौटी नबनी राष्ट्र र राष्ट्रियताको लागि सबैले निस्वार्थ सेवा गर्नुपर्ने भन्दै सुरक्षाकर्मी र परिवारका सदस्यहरु ३० लाखको हाराहारीमा भएकोले यो शक्तिले चाहेमा देशको मुहार बदल्न सक्ने बताए ।

ब्रिटिश सेनाका पूर्व इन्जिनियर वसन्त भूजेलले, नेपालको अस्तित्व बचाउन गुल्मीको रेशुङ्गाका शशिधर स्वामिजीले पृथ्वीनारायण शाहलाई १३ वर्षको उमेरमा नै राजकीय शिक्षा दिएको र सोही अनुरुप नेपाल एकीकरणको अभियान अघि बढेको बताए । उनले गोर्खालीको आत्मसम्मान र वलिदानी स्वभावलाई कसैले पनि दुरुपयोग र अपहेलना गर्न नहुने बताए ।

मनोरोग विशेषज्ञ डा.निकोलस भुषालले प्रकृतिको वरदान प्राप्त यस पुण्यभूमिलाई स्वर्ग बनाउन र हरेक नेपालीको स्वास्थ्य सुरक्षाको लागि युवा अभियान यस परिषद्सँग मिलेर काम गर्न इच्छुक रहेको बताए ।

परिषद्का सदस्यद्वय, हेमशंकर गिरी र विक्रम पाण्डेले, सरकारको गैरजिम्मेवारीपन र मनपरीतन्त्रलाई टुलुटुलु हेरेर बस्न नसक्ने भन्दै, आवश्यक परे जस्तोसुकै कदम चाल्नपनि परिषद् तयार रहेको बताए ।

परिषद्का अध्यक्ष कोमल बहादुर राउतको सभापतित्व र पूर्वप्रधानसेनापति रुकमाङ्गद कटवालको प्रमुख आतित्थ्यतामा संचालन भएको कार्यक्रमलाई सहसंयोजक पुष्पाखर गौतमले स्वागत मन्तव्य राखेका थिए ।

दोस्रो सत्रमा, पूर्व सुरक्षाकर्मी परिषद्को साधारण सभा कार्यक्रम सम्पन्न भएको थियो। साधारण सभामा अध्यक्ष कोमल बहादुर राउतले परिषद्को वार्षिक प्रतिवेदन पेश गरेका थिए भने कोषाध्यक्ष आनन्द सिंखडाले संस्थाको आयव्यय विवरण प्रस्तुत गरेका थिए ।

परिषद्ले विधानमा रहेको ११ सदस्यीय कार्यसमितिमा थप गरी ५५ जनाको केन्द्रीय कार्यसमिति बनाउने गरी विधान संशोधन गरेको छ । साधारण सभाले सर्वसम्मतिका साथ कोमल बहादुर राउतको अध्यक्षतामा ५५ सदस्यीय केन्द्रीय कार्यसमिति समेत चयन गरेको छ।
यसैगरी, शंकर पौडेलको अध्यक्षतामा कागेश्वरी मनोहरा नगरपरिषद् गठन कार्य पनि सम्पन्न भएको छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

करीब १४ टन सहायता सामग्री लिएर नेपाली टोली काबुल जाँदै

२०७८ पुष २८, बुधबार ०९:३२
Spread the love२ माघ, काठमाडौं । मानवीय सहायता सामग्रीसहित नेपालको सरकारी टोली आज अफगानिस्तानको राजधानी काबुल जाँदै छ । परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल नेतृत्वको टोली हिमालय एयरलाइन्सको जहाजबाट सहायता सामग्री लिएर आज बिहान काबुल जान लागेको हो । लम्सालले संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाई सामग्री हस्तान्तरण गर्नेछिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा […]

समाचार छुट्याे की?