
युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले सेभेरोडोनेट्स्क सहरका लागि भइरहेको लडाइँले देशको पूर्वी क्षेत्रमा युद्धको परिणामलाई निर्धारण गर्न सक्ने बताएका छन् । उक्त औद्योगिक क्षेत्रमा रुसी र पृथकतावादीसँग युक्रेनी फौजको लडाइँ जारी रहेका बेला उनको यस्तो भनाइ आएको हो । उनले आफ्नो सेनाले शत्रु सेनालाई ठूलो क्षति पुर्याइरहेको बताए ।
तर उक्त क्षेत्रमा उच्च युक्रेनी अधिकारीका अनुसार युक्रेनी सेना सहरको बाहिरी भागमा धकेलिएको छ । लुहान्स्कका गभर्नर सेर्हेई हाइडाईले रुसले गोलाबारी र हवाई हमलाहरू गर्न थालेपछि विशेष सैन्य बल फिर्ता भएको बताएका छन् । करिब १५ हजार नागरिकहरू सेभेरोडोनेट्स्क र नजिकैको सहर लिसिचान्स्कमा रहेको गभर्नरले बताएका छन् ।
रुसले बुधबार युक्रेनले डोन्बासमा जनशक्ति, हतियार र सैन्य उपकरणको उल्लेखनीय क्षति भोगिरहेको बताएको थियो । गत मार्चको अन्त्यमा युक्रेनको राजधानी किएभ वरपरको क्षेत्रबाट रुसी सेना फिर्ता भएपछि युद्धको केन्द्रबिन्दु पूर्वी क्षेत्र भएको छ ।
यसैबीच संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले रुसी आक्रमणले विश्वको अवस्था खराब भइरहेको चेतावनी दिएका छन् । उनले युद्धका कारण एक अर्ब ६० करोड मानिसहरू प्रभावित भएको बताए । बीबीसी न्यूजसँगको अन्तर्वार्तामा विश्व व्यापार सङ्गठनकी महानिर्देशकले हस्तक्षेप नगरिए खाद्य सङ्कट वर्षौंसम्म रहनसक्ने चेतावनी दिएकी छन् ।