
काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले अमेरिकाले नेपाल अमेरिकी सैनिक गठबन्धनमा सामेल हुन खोजेको भन्दै आपत्ति जनाएका छन् । सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा रावलले अमेरिकाले पैसा दियो भनेर अमेरिकी सैनिक गठबन्धनमा सामेल हुन खोजेको बताएका हुन् ।
उनले आर्थिक सहयोगका नाममा कसैले पनि कुनै पनि देशलाई सामरिक रुपमा धकेल्न नहुने बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण शंकास्पद भएको भन्दै प्रधानमन्त्रीलाई संसदीय समितिको बैठकमा बोलाउन माग गरे ।
बैठकमा एमालेका सांसद नारदमुनि रानाले नेपालको शासन सत्ता सेनाको हातमा बुझाउने प्रयास भइरहेको आरोप लगाए । विगतमा प्रधानमन्त्री देउवाले राजाको हातमा सत्ता बुझाएको इतिहास रहेको भन्दै कतै सेनाको हातमा नेपालको शासन सत्ता बुझाउने प्रयास त भैरहेको छैन भन्दै आशंका गरे ।
प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा भारत जानु र अमेरिकी सेनाको एसिया प्यासिफिक कमाण्डका प्रमुख जनरल चार्ल्स ए फ्लिन नेपाल आउनु संयोग मात्र हो कि होइन भनेर पनि उनले प्रश्न गरे । अमेरिकी सहयोग परियोजना एमसीसीको सन्दर्भमा उनले कुनै पनि सहयोग कसैको लाभका लागि नभई समग्र राष्ट्रको हितमा हुनुपर्ने बताए ।