
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड मर्ज हुने भएका छन् । आइतबार आयोजित एक कार्यक्रममा दुवै कम्पनी एक आपसमा मर्ज गर्ने सम्बन्धी सम्झौतापत्रमा दुवै कम्पनीका सञ्चालक समितिका अध्यक्षले हस्ताक्षर गरेका छन् ।
मर्जर गर्ने सम्बन्धमा सैद्धान्तिक सहमतिको लागि सम्झौतापत्रसहित बिमा समितिमा निवेदन दिने र बिमा समितिबाट सहमतिपत्र प्राप्त हुनासाथ डीडीएलगायत मर्जर सम्बन्धी अन्य कार्यहरू द्रूत गतिमा अगाडि बढाइने जानकारी दिइएको छ ।
नियमनकारी निकाय बिमा समितिबाट निर्देशित पुँजी वृद्धि गर्नुपर्ने समय सीमाभित्रै चुक्ता पुँजी वृद्धि गरी बिमा समितिको लक्ष्य अनुरूप बिमकहरूको संख्या घटाउने, पुँजीको आधार बलियो बनाउने, स्वस्थ प्रतिस्पर्धात्मक वातावरणमा व्यवसाय गर्ने र नियामक निकायको सुपरीवेक्षण क्षमता बढाउन यो मर्जरले सघाउ पुग्ने र मर्जर सम्पन्न भए पश्चात कम्पनीका सेयरधनी, बिमित, अभिकर्ता, कर्मचारी लगायत सम्बन्धित सबै पक्षलाई लाभ हुने विश्वास दुवै कम्पनीले लिएको छ ।
यो मर्जर कार्यलाई सफलतापूर्वक सम्पन्न गराउन सम्पुर्ण सेयरधनी, नियामक निकायहरू, सञ्चालक समिति, कर्मचारी तथा सम्बन्धित सबै पक्षबाट पूर्ण सहयोग हुने विश्वास लिइएको छ ।