काठमाडौं । सरकारले १२ सय मेगावाट क्षमताको बूढीगण्डकी परियोजना सम्पन्न गर्न कम्पनी खोल्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा ऊर्जा मन्त्रालयको प्रस्तावमा यो निर्णय भएको हो । ऊर्जा मन्त्रालयले बूढीगण्डकी आयोजना निर्माणका लागि कम्पनी मोडल तयार पारेको थियो ।
चिनियाँ कम्पनीलाई दिने यसअघिको सरकारको निर्णय गत वैशाखमा खारेज गर्दै सरकार आफैंले बूढीगण्डकी निर्माण गर्ने निर्णय भएको थियो । यो आयोजना अब स्वदेशी लगानीको ‘बुढीगण्डकी जलविद्युत् विकास कम्पनी लिमिटेड’ मार्फत अघि बढ्नेछ । गत चैत २४ मा बसेको मन्त्रिपरिषद् बैठकले बुढीगण्डकी स्वदेशी लगानीमै बनाउने निर्णय गरेको थियो ।
त्यसपछि ऊर्जा मन्त्रालयले कम्पनी मोडलमा जाँदा लागत संरचना कस्तो हुने भन्नेबारे अर्थ र कानुन मन्त्रालयको राय मागेको थियो । ऊर्जा मन्त्रालयका अनुसार कम्पनीको अधिकृत पुँजी ६० अर्ब रुपैयाँ हुनेछ भने उक्त पुँजीलाई प्रतिसेयर १ सय रुपैयाँका दरले ६० करोड कित्ता सेयर जारी गरिनेछ ।
कम्पनीको तत्काल जारी पुँजी २० अर्ब रुपैयाँ बराबर हुनेछ । संस्थापक सेयरधनीहरूमा सबैभन्दा धेरै ४० प्रतिशत अर्थात २४ करोड कित्ता सेयर ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई छुट्याइनेछ । त्यसैगरी २५ प्रतिशत अर्थात १५ करोड कित्ता अर्थ मन्त्रालयलाई छुट्याइनेछ ।