
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद पुनर्गठन गरेकी छन् । राष्ट्रपति भण्डारीले सोमबारसंविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा केही मन्त्रीको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी हुन् ।
राष्ट्रपतिको कार्यालयले दिएको जानकारीअनुसार ४ बजे नयाँ मन्त्रीको शपथको समय तय भएको छ। जनता समाजवादी पार्टी (जसपा) ले आफ्ना तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाएपछि मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो ।
जसमा मृगेन्द्रकुमार सिंह यादवलाई कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी दिइएको छ भने मोहम्मद इस्तियाक राईलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ।
त्यस्तै प्रदीप यादवलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री रामसहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ । यसअघि नेकपा एकीकृत समाजवादीले मन्त्रीमण्डल हेरफेर गरेको थियो ।