
रुसी ग्यास जर्मनी जाने बाल्टिक सागर पाइपलाइन नोर्ड स्ट्रीम वानबाट १० दिनका लागि आपूर्ति अवरुद्ध भएको छ । उक्त पाइपलाइनको रुसी–समर्थक सञ्चालकले वार्षिक तालिका अनुसार मर्मतसम्भार कार्यका लागि त्यस्तो कदम चालिएको जनाएको छ । तर जर्मनीका मन्त्रीहरू बर्लिनमाथि दबाब दिनका लागि राजनीतिक रूपले उक्त कदम चालिएको विश्वास गर्छन् ।
जर्मनीका अर्थमन्त्रीले रुसबाट ग्यास आपूर्ति बन्द हुने सम्भावनाबारे युरोपेली देशहरू तम्तयार रहनु पर्ने बताएका छन् । उनले युक्रेन युद्धका कारण रुसमाथि लागेको ईयू प्रतिबन्धको प्रतिक्रियामा क्रेमलिनले ग्यासलाई अस्त्रका रूपमा प्रयोग गरेको आरोप लगाए ।
चेक रिपब्लिकका उद्योगमन्त्रीसँग संयुक्त विज्ञप्ति जारी गर्दै रोबर्ट ह्याबेकले युरोपेली युनियनका सदस्यबीच नै विमति उत्पन्न हुने गरी ग्यास आपूर्तिको मुद्दालाई रुसले उपयोग गरिरहेको चिन्ता व्यक्त गरे ।
जर्मनीको ऊर्जा नियामकले पनि विगतकै परिमाणमा अब ग्यास आपूर्ति निरन्तर रहनेमा आशङ्का व्यक्त गरेको छ । यसअघि नै ग्यास आपूर्ति साबिकमा हुनेको ४० प्रतिशत मात्रै हुने गरेको थियो ।
मस्कोले आर्थिक प्रतिबन्ध तथा टर्बाइनमा समस्यालाई त्यसको कारण बताएको थियो । उक्त पाइपलाइन बन्द हुँदा इटलीलाई पनि असर परिरहेको छ । त्यहाँको एउटा ऊर्जा समूहले आफूले सोमबार पछिल्ला केही दिनहरूमा पाइरहेको भन्दा एक तिहाइ मात्र ग्यास रुसी कम्पनी ग्याजप्रोमबाट पाइरहेको बताएको छ।