काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रियसभामा दर्ता भएको संवैधानिक परिषद् सम्बन्धी विधेयक आज भोलिमै फिर्ता हुने बताएका छन् । सोमबरा सानेपामा आयोजित कार्यक्रममा थापाले प्रधानमन्त्रीले संवैधानिक परिषद् सम्बन्धी राष्ट्रियसभामा दर्ता भएको विधेयक तत्कालै फिर्ता लिने बताएको जानकारी दिएका छन् ।
उनले कांग्रेसलाई सडक र सत्तामा हुँदा फरक–फरक बोल्ने छुट नहुने भन्दै विधेयक फिर्ता लिएर नयाँ जगाउने विधेयक पेस गर्नुपर्ने बताए । उनले भने,‘हामीले हिजोमात्रै हाम्रो प्रधानमन्त्रीजीलार्ई भेटेर भन्यौँ कि कांग्रेसलाई सडक र सत्तामा हुँदा फरक फरक बोल्ने छुट छैन । अहिले संवैधानिक परिषद् सम्बन्धी जुन विधेयक राष्ट्रिय सभामा दर्ता भएको छ, त्यो तुरुन्तै फिर्ता होस्।’
केपी शर्मा ओलीले २०७७ मंसिर ३० गते ल्याएको अध्यादेशसँग मेल खाने गरि अध्यादेश राष्ट्रिय सभामा दर्ता गराएका थिए । विधेयकमा देउवाले आफूसहित ३ जनाको उपस्थिति भएमा बैठकको कोरम पुग्ने र सिफारिस समेत गर्न सक्ने व्यवस्था राख्दै संघीय संसद्को माथिल्लो सदनमा दर्ता गराएको थियो।
उनले भने, ‘उहाँले त्यसलाई तत्कालै फिर्ता लिन्छु भन्नुभएको छ । कांग्रेस सधै एउटा आस्थामा विश्वास गर्ने पार्टी भएकाले यस्तो विधेयक पारित हुन सक्दैन।’ प्रधानमन्त्री देउवाले गत बुधबार संवैधानिक परिषद (काम, कर्तव्य. अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा पेस गरेका थिए।