काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग दुईअन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले स्कटल्याण्डमाथि सानदार जित हासिल गरेको छ । नेपालले स्कटल्याण्डलाई उसकै घरेलु मैदान ग्लास्गोस्थित टिटउड क्रिकेट स्टेडियममा ५ विकेटले पराजित गरेको हो । निर्धारित ५० ओभरमा ४२.५ ओभर खेल्दै स्कटल्याण्डले दिएको १४५ रनको लक्ष्य नेपालले २५.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि आसिफ शेखले सर्वाधिक ७१ रन बनाए। ६२ बलमा १० चौका र १ छक्का प्रहार गरे। रोहित पौडेलले नटआउट ३४ रनको योगदान गरे। कुशल भुर्तेलले २७ रन जोडे। देव खनाल ४ रन र दिपेन्द्रसिंह ऐरी ३ रनमा आउट भए । स्कटल्याण्डका गेभिन मेनले तीन विकेट लिए। एड्रियन नील र रिची बेरिंगटनले एक/एक विकेट लिए।
यसअघि घरेलु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४२.५ ओभरमा सबै विकेट गुमाउँदै १४४ रनको योगफल तयार पारेको थियो । स्कटल्याण्डका लागि गेभिन मेनले अविजित रहँदै सर्वाधिक ६४ रनको अर्धशतकीय इनिङ खेले। मार्क वाटले १७ तथा साफ्यान शारिफले १६ रन जोडे। कलुम म्याकलोडले १३ रन जोड्दा अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् ।
बलिङतर्फ नेपालका सोमपाल कामी र आदिल आलमले उत्कृष्ट बलिङ गरे। सोमपाल र आदिलले समान ३/३ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले २ विकेट हात पारे। त्यस्तै करण केसी र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए ।
स्कटल्याण्डलाई हराउँदै नेपालले सिरिजमा पहिलो जित दर्ता गरेको छ। नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो । पहिलो खेलमा नामिबियालाई ७७ रनले हराएको स्कटल्याण्ड दोस्रो खेलमा नेपालसँग पराजित भएको छ।