वीरगंज । जनता समाजवादी पार्टी (जसपाको उपेन्द्र यादव पक्षले संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईसहित ९ जना नेतालाई कारबाही गरेको छ ।
वीरगंजमा बसेको यादव पक्षको केन्द्रीय समिति बैठकले संघीय परिषद् अध्यक्ष भट्टराईका साथै केन्द्रीय कार्यकारिणी सदस्यहरु महेन्द्रराय यादव, हिसिला यमी, दुर्गा शेर्पा, प्रशान्त सिंह, गंगानारायण श्रेष्ठ, रमेश यादव, दानबहादुर चौधरी र भक्तबहादुर शाहलाई कारबाही गर्दै पार्टीको पदीय जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको हो ।
बैठकले वरिष्ठ नेता अशोक राईलाई संघीय परिषदको अध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । बैठकले गरेका निर्णयहरु शुक्रबार बिहान वीरगंजमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने पार्टीका केन्द्रीय सदस्य प्रदीप यादवले जानकारी दिए । भट्टराई पक्षको मंगलबार र बुधबार काठमाडौंमा बसेको विस्तारित बैठकले जसपाबाट अलग भएर नयाँ पार्टी गठन गर्ने निर्णय गरिसकेको छ ।