
काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण आकस्मिक नभएको बताएका छन् । शुक्रबार भारत प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले नेपालका लागि तत्कालीन भारतीय राजदूत विनयमोहन क्वात्राले भारत भ्रमणको प्रस्ताव गरेको र सोही अनुसार आफू भ्रमणमा जान लागेको बताएका हुन् ।
उनले भारत भ्रमणमा जान लाग्दा आफू उत्साहित भएको समेत बताए । भारत भ्रमणको क्रममा प्रचण्डले व्यापार घाटा नियन्त्रण, कूटनीतिक संवादमार्फत सीमा समस्या समाधानका लागि विश्वासको वातावरण निर्माण लगायतका एजेन्डा उठाउने बताए । त्यसका लािग परराष्ट्र मन्त्रालयका अधिकारीसँग पनि परामर्श गरेको प्रचण्डले बताए ।
भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि प्रचण्डले भेट गर्ने बताइएको छ । साथै अन्य सरकारी अधिकारीहरुसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष प्रचण्ड आइतबार नेपाल फर्कने कार्यक्रम छ।