जुम्ला । जुम्लाको हिमा गाउँपालिका– १ स्थित भित्रीखोला लघुजलविद्युत आयोजनाको पावर हाउस पहिरोले पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । हिमाको प्रहरी चौकीका अनुसार जुम्ला हिमा गाउँपालिका– १ आचार्य लिहीमा रहेको उक्त आयोजना पहिरोले पुरिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा पावरहाउसका अपरेटर गोरखबहादुर रावतकी श्रीमती ३० वर्षीया विमला रावत, नौ बर्षीय छोरा भरत रावत र आठ बर्षीय छोरा सूर्य रावत रहेका प्रहरीले जनाएको छ । प्रहरी चौकी बड्कीका प्रहरी नायव निरीक्षक रामप्रसाद चौलागाईका अनुसार गएराति ११ बजे पावर हाउसको पानी ओभरलोड भएर पहिरो आइ घटना भएको थियो । ।
प्रहरीलाई मध्यरात खबर आएपछि त्यहाँ पुगेर उद्धार गरिएपनि पुरिएकाहरुको खोजी अझै जारी रहेको जनाएको छ । गाउँमा विद्युत कटौति भएसँगै गोरखबहादुर पावर हाउस पुगेपछि पहिरो गएको पत्ता लागेको थियो ।