श्रीलङ्कामा देशैभरि बृहत् विरोध प्रदर्शन भइरहँदा शुक्रबार सभामुख महिन्दा यापा अबयवार्देनाले गोटाबाया राजपाक्षले राष्ट्रपतिको रुपमा दिएको राजीनामा स्वीकृत भएको बताएका छन् ।
“राष्ट्रपतिको राजीनामा स्वीकृत भएको छ । आवश्यक कानुनी प्रक्रियापछि संसद सदस्यहरूलाई भोलि नयाँ राष्ट्रपति निर्वाचित गर्न आमन्त्रित गरिनेछ,” सभामुख अबेयवार्देनाले भने । आन्दोलनकारीको निरन्तरको दबावलाई साम्य पार्ने प्रयासस्वरूप सम्बोधन गर्दै एबेयवार्देनाले जुलाई १४ देखि राष्ट्रपतिले कानुनी रूपमा आफ्नो कानुनी कर्तव्य र जिम्मेवारीबाट राजीनामा दिएको बताए । उनले संसदद्वारा नयाँ राष्ट्रपति निर्वाचित गर्ने टुङ्गो नलागेसम्म श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रेमसिङ्हेलाई अन्तरिम राष्ट्रपतिको रूपमा शपथ दिइने पनि बताए ।
श्रीलङ्काको संविधानको धारा ४० तथा १९८१ को विशेष प्रावधानको ऐन नं. २ का बमोजिम राष्ट्रपति चयन गरिने अबेयवार्देनाले बताए । उनले भने, “यो प्रक्रिया सफलतापूर्वक र छिटो पूरा गर्ने मेरो मनसाय हो । प्रजातान्त्रिक परम्परालाई पवित्र राख्ने दक्षिण एसियाली क्षेत्रको सबैभन्दा पुरानो प्रजातन्त्र भएकाले यो प्रक्रियालाई पारदर्शी र प्रजातान्त्रिक ढंगले पूरा गर्नु श्रीलंकाको इतिहासमा मात्र नभई विश्वको प्रजातान्त्रिक इतिहासमा पनि एउटा कोसेढुङ्गा हुनेछ ।”
उनले यस लोकतान्त्रिक प्रक्रियामा सहयोग गर्न पार्टीका नेता, राज्य पदाधिकारी र सुरक्षाकर्मीबाट सहयोगको लागि अनुरोध गरे । एबेयवार्देनाले भने, “शान्तिपूर्ण वातावरण सृजना गर्नका लागि श्रीलङ्काका हाम्रा सम्मानित र प्रिय नागरिकहरूलाई मेरो विशेष अपील छ । यसले संसदका सबै सदस्यहरूलाई स्वतन्त्रतापूर्वक संसदमा उपस्थित हुन र आफ्नो अन्तस्करणअनुसार कार्य गर्न अनुमति दिनेछ ।”
यसैबीच सिंगापुरको परराष्ट्र मन्त्रालयले राजपाक्षलाई निजी भ्रमणमा सिंगापुर प्रवेशको अनुमति दिएको पुष्टि गरेको छ । मन्त्रालयले भनेको छ, “उहाँले शरण माग्नुभएको छैन । शरण दिइएको पनि छैन ।”
माल्दिभ्सबाट बिहीबार साँझ साउदी एअरलाइन्सको उडानमा सिंगापुर पुगेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । राजपाक्ष र उनकी पत्नी सिंगापुरमै रहने र मध्यपूर्वतर्फको थप यात्रा नगर्ने बताइएको छ ।