
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विचार नमिल्ने भएपछि त्यही पार्टीमा बसिरहनुपर्छ भन्ने नरहेको बताएका छन् । नेपाल चीन मैत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ओलीलाई चुनावी तालमेलदेखि वाम एकतासम्मको प्रस्ताव राखेपछि ओलीले विचार नमिल्ने पार्टीमा बस्न नहुने बताएका हुन् ।
उनले नेपालमा वामपन्थी भए कांग्रेस र गठबन्धन छोड्नुपर्ने बताए । उनले भने,‘गठबन्धनमा रहेका पार्टीका नेताहरु कुरा राम्रो गर्नुहुन्छ। तर, गठबन्धन पश्चिमतिर हिँडेको छ। उहाँहरु पूर्व जाने कुरा गर्नुहुन्छ। कांग्रेस, माओवादी र जसपाभित्र पनि राम्रो मान्छे छानेर कार्यक्रममा ल्याएको रहेछ। तपाईहरुले विचार व्यक्त गरेर छाड्ने होइन। विचार मिल्दैन भने त्यो पार्टीमा किन बस्नुहुन्छ तपाईँहरू? विचार मिल्दैन भने पार्टी मिल्दैन। त्यसमै किन अल्झिरहनुभएको छ ?’
अध्यक्ष ओलीले देउवा नेतृत्वको सरकारको रक्षा गरेर वामपन्थी आन्दोलन अघि बढ्न नसक्ने भन्दै गठबन्धन छाड्न आग्रह गरे ।
उनले भने, ‘कम्युनिष्ट सरकार ढालेर देउवा नेतृत्वको गठबन्धनको सरकार बनाउन अदालत गएको होइन ? संसदले सकेन भनेर परमादेश माग गरेको होइन ? देउवा नेतृत्वको रक्षा गरेर वामपन्थी आन्दोलन हुँदैन। कोही वामपन्थी हुनुहुन्छ भने, गल्ती भइहाल्यो छाडेर आउनुस्।’
उनले चुच्चे नक्सा छापेपछि एकजुट भएर सत्ताबाट अपवित्र साँठगाँठ गरेर आफूलाई हटाएको उनले बताए । उनले दुईवटै छिमेकीसँग असल मैत्री सम्बन्ध राख्नुपर्ने बताए ।
उनले भने,‘उत्तरतिरबाट बाटो खोलेवापत मैले सरकार छोड्नुपरेको थियो। मेरो मनमा देश, नेपाल, स्वाधिनता बाहेक अरु केही छैन। राष्ट्रिय हितबाहेक चीनको भूमि मेरो हो भनेर दाबी गरेर जान सक्छौं होला र ? हाम्रो चिन्ता हाम्रो भूमि हो भन्ने हिम्मत चाहिँ गर्नुपर्यो। हामीलाई कसैको भूमि चाहिएको छैन । आफ्नो खाजेको मात्र हो।’