
गण्डकी । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक ध्रुवीकरण अहिलेको आवश्यकता भएको बताएका छन् । प्रेस चौतारीले आइतबार पोखरामा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले गठबन्धनले राष्ट्रको समृद्धि हासिल हुन नसक्ने भएकाले राजनीति ध्रुवीकरण अपरिहार्य भएको बताएका हुन् ।
दुनियाँमा कहीँ पनि गठबन्धनको माध्यमबाट राष्ट्रले समृद्धि हासिल गरेको इतिहास नभएको भन्दै महासचिव पोखरेलले गठबन्धन भनेको एक प्रकारले संकटको व्यवस्थापन मात्रै भएको बताए । उनले गठबन्धनले नीतिगत विचलन, स्वार्थहरुको सौदाबाजी र वैदेशिक चलखेललाई निम्ताएको आरोपसमेत लगाए ।
उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसकी नेतृ आरजु राणाको भारत भ्रमणलाई यसकै उदाहरण भएको बताए । उनले भने,‘गठबन्धनका दुई प्रमुख घटकका नेताहरु अहिले दिल्ली दौडाहामा हुनुहुन्छ, नेपालीहरुको बीचमा नेपालको राजनीतिको मान्यतालाई खण्डित गर्ने काम गठबन्धनका नेताहरुबाट भएको छ ।’
अहिलेको सत्ता गठबन्धन आगामी चुनावसम्म टिकाउने भनेर दिल्ली भ्रमणमा गएको आरोप लगाउँदै पोखरेलले नेपालको राजनीतिबारे बाहिर बसेर छलफल गर्ने स्थिति उत्पन्न हुनु दुःखद भएको बताए । पोखरेलले आन्तरिक मामिलामा सत्ता गठबन्धनले भारतीय हस्तक्षेप निम्त्याएको आरोप लगाए । विगतमा नेपालको मन्त्रिपरिषद बैठकमा पनि भारतीय प्रतिनिधि रहने गरेको स्मरण गर्दै उनले अहिले सत्ता गठबन्धनले पनि त्यस्तै गर्न खोजेको आरोप लगाए ।
उनले एम अधिकारीका बारेमा काठमाडौंमा रहेका सञ्चारमाध्यमले अनावश्यक हल्ला मच्चाएको बताए । उनले भने, ‘एमालेले औपचारिकरुपमै विज्ञप्ति जारी गरिसकेपछि धारणा नै त्यही हो । यो प्रायोजित समाचार हो । गभर्नरमाथिको आक्रमण हो ।’ उनले विराटनगरका मनोज अधिकारीलाई नै एम अधिकारी भनिएको दाबी गरे ।