
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको सम्बन्धमा बिहीबारसम्ममा टुंगोमा पुग्नुपर्ने बताएका छन् ।
मंगलबार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग सिंहदरबारमा भेटवार्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले गठबन्धनको बिषयमा बिहीबारसम्ममा टुंगोमा पुग्नुपर्नेमा जोड दिएका हुन् । उनले डा. भट्टराईसँग सामान्य राजनीतिक भेटघाट भएको र गठबन्धन बनाउने विषयमा छलफल भएको बताए ।
गठबन्धन बनाउने सन्दर्भमा अरु पार्टीसँग पनि कुरा गर्ने सहमति भएको पनि उनले जानकारी दिए । उनले भने, ‘आजको सामान्य राजनीतिक भेटघाट हो, अरु त्यस्तो केही छैन । गठबन्धन बनाउने विषयमा छलफल चलिराखेको छ । गठबन्धन बनाउनेबारे अरु पार्टीसँग पनि कुरा गरौँ । पर्सिसम्म एउटा टुंगोमा पुग्न सकियो भने राम्रो हुन्छ भन्ने कुरा भयो ।’
अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा गठबन्धन गर्ने नेपाली काँग्रेस केन्द्रीय समितिको निर्णय सही भएको बताए । उनले आफूहरु गठबन्धन लिएर लाने पनि बताए ।
उनले भने,‘काँग्रेसले सही निर्णय गरेको छ । हाम्रो पनि यही गठबन्धन लिएर जाने भन्ने छ । यो गठबन्धनमा यता उता गर्ने भन्ने हाम्रो कहीँ कतै छैन । बाबुरामजी पनि गठबन्धनमै हुनुहुन्छ नि । यो गठबन्धन कुनै हालतमा छोड्दिन भन्ने छ बाबुरामजीको ।’
प्रचण्डले भट्टराईलाई जनता समाजवादी पार्टी, नेपालले कारबाही गरेपनि उहाँ गठबन्धनमै रहेको स्पष्ट पारे । भेटवार्तामा भट्टराईले गठबन्धन कुनै हालतमा नछोड्ने प्रतिवद्धता गरेको उनले बताए ।