
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र संकटमा रहेको बेलामा आयात गर्ने÷ नगर्ने भन्ने अधिकार सरकार र राष्ट्र बैंकको भएको बताएका छन् ।
शुक्रबार नेकपा एमालेको नीति तथा अनुसन्धान प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा अध्यक्ष गोल्छाले अहिलेको अवस्थामा के आयात गर्नुहुन्छ र के गर्नुहँदैन भन्ने विषय निजी क्षेत्रको सरोकारको विषय नभएको बताएका हुन् । उनले अहिले सरकारको भुक्तानी सन्तुलन, बैंकिङ तरलता के भइरहेको छ ? यो समयमा के आयात गर्नुहुन्छ ? के आयात गर्नुहुन्न भन्ने कुरा निजी क्षेत्रको सरोकारको विषय नभएर राष्ट्र बैंक वा सरकारको भएको बताए ।
उनले निजी क्षेत्र स्वाभावैले नाफामुखीमा विश्वास गर्ने कुरा अस्वीकार गर्न नसक्ने बताए । अध्यक्ष गोल्छाले निजी क्षेत्रले उत्पादन क्षेत्रमा लगानी गर्न नसक्नु कष्ट अफ डुइङ अत्याधिक हुनु रहेको दाबी गरे । उनले कस्ट अफ डुइङ बिजनेश नघटेसम्म उत्पादन क्षेत्रमा लगानी नबढ्ने बताए ।
अध्यक्ष गोल्छाले अनुत्पादनशील क्षेत्रमा लगानी नभए राज्यको राजश्व समेत नउठ्ने बताए । उनले अहिले सरकारले उठाएको राजश्व व्यवसायीहरुले व्यापारमा लगानी गरेर नै उठेको भन्दै गाडी,मोटरसाइलको आयातलाई रोक्दा राजश्व समेत रोकिने बताए । अध्यक्ष गोल्छाले बैंकको ब्याजदर ६ महिनामा ७० प्रतिशत बढ्नु राम्रो नभएको बताए ।
अध्यक्ष गोल्छाले पछिल्लो एक वर्षदेखि बैंक तथा वित्तीय प्रणालीमा देखिएको तरलता अभावका कारण कर्जा नपाउँदा निजी क्षेत्र निरास भएको बताए । उनले अझै पनि अर्थतन्त्र चलायमान नहुने र उत्पादन क्षेत्रमा लगानी न्यून रहने बताए ।