
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशमा उत्पादित वस्तु तथा सामग्रीहरुको उत्पादन वृद्धि र बजारीकरण गर्न जोड दिएका छन् ।
आइतबार नेपाल उद्योग परिसंघको १९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालको अर्थतन्त्रमा आन्तरिक तथा वाह्य चाप परेको भन्दै यसलाई निकास दिन विदेशमा उत्पादित महंगा र विलासीपूर्ण वस्तुहरु स्वदेशमा आयात गर्न छोड्नुपर्ने बताएका हुन् ।
प्रधानमन्त्री देउवाले मुलुकले धान्न नसक्ने गरी बढिरहेको व्यापार घाटा, विदेशी मुद्राको घट्दो सञ्चिति सुस्त बन्दै गइरहेकोले कृषि उत्पादनमा जोड दिनुपर्ने बताए । उनले स्वदेशमा नै उत्पादन भएका वस्तु तथा सामग्रीहरुको उत्पादन वृद्धि तथा बजारीकरण गर्दै आयात प्रतिस्पर्धामा सहयोग पुर्याउन र यसतिर लगानी केन्द्रित गर्न आग्रह गरे ।
कृषि क्षेत्र मुलुकको अर्थतन्त्रको आधारस्तम्भ भएकोले कृषि क्षेत्रको व्यवसायीकरण, यान्त्रिकीकरण गरी यस क्षेत्रको विकासमार्फत आर्थिक वृद्धिको जड बलियो बनाउनु र मुलुकको गरिबी तथा आर्थिक असमानता हटाउनुपर्ने उनको भनाइ छ ।
प्रधानमन्त्रीले विदेशी कच्चा पदार्थमा आधारित कम मूल्यवृद्धि हुने प्रशोधन उद्योग भन्दा मुलुककै कृषि वन तथा खानी क्षेत्रका कच्चा पदार्थमा आधारित उद्योगधन्दाको विकास गरी स्वदेशमै आय र रोजगारी उत्पादन हुनेगरी आफ्नो आर्थिक क्रियाकलापलाई अघि बढाउन आवश्यक रहेको बताए ।
उनले विदेशी मुद्रा आर्जन हुने आर्थिक क्रियाकलापहरुहरुमा निजी क्षेत्रको सहयोगको अपेक्षा गरेको बताउनु भयो । प्रधानमन्त्री देउवाले उद्योग व्यवसायमा बिजुलीको उपयोग बढाइ पेट्रोलियम पदार्थको आयातको उपयोगलाई ध्यान दिनपनि आग्रह गरे ।
उनले उद्योगी, व्यवसायीहरुले तत्कालीन लाभ लिने क्षेत्रमा मात्र नभइ दीर्घकालसम्म मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने मुलुकभित्रको कच्चा पदार्थको अत्युत्तम परिचालन गरी निकासी बढाउने र मुलुकको अर्थतन्त्रको जग बलियो बनाउने कुरामा लगानी बढाउन आग्रह गरे ।
प्रधानमन्त्री देउवाले मुलुकको अर्थतन्त्रलाई थप बिग्रिन नदिन र ट्रयाकमा ल्याउन सरकार निजी क्षेत्रसँग हातेमालो गर्दै अघि बढ्न तयार रहेको बताए ।