
काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले प्रहरीको ल्याबबाट प्राप्त भिडियोको अध्ययन सुरु गरेको छ ।
मंगलबार बसिरहेको समितिको बैठकमा प्रहरीले पठाएको भिडियोको अध्ययन भइरहेको हो । समितिले मन्त्रालयबाट प्राप्त सिसिटिभी फुटेजमा जेठ १४ गतेको फुटेज नभएको पाइएपछि प्रहरीको सहायता मागेको थियो। प्रहरीले समितिलाई पठाएको रिपोर्टमा सिसीटिभीको फुटेज पनि समावेश भएको समितिका सदस्यहरुले बताएका छन् ।
शर्माले समितिमा आफूलाई सिसीटिभीको स्टोरेज क्षमता थाहा नभएको बताएका थिए। समितिले प्रहरीको अध्ययन पछि प्राप्त गरेको रिपोर्टमा १४ गते रातिकै फुटेज छ या छैन् भन्ने यकिन भएको छैन । शर्मालाई बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई सहभागी गराएको आरोप लागेको थियो। छानबिनका लागि समिति बनेपछि शर्माले पदबाट राजीनामा गरेका थिए ।