
रुसको इन्धन व्यापार गर्ने निकाय ग्याजप्रोमले युरोपेली सङ्घ (ईयू) अन्तर्गतका देशहरूमा आपूर्ति हुने ग्यास ठूलो मात्रामा कटौती गर्न लागिएको जनाएको छ। मुख्य पाइपलाइन मर्मतको कामका कारण आपूर्ति कटौती गर्न लागिएको उसले बताएको छ ।
ग्याजप्रोमले नर्ड स्ट्रीम–१ पाइपलाइनको अर्को टर्बाइन बन्द गरिने र यसले ग्यासको उत्पादनमा २० प्रतिशत कटौती हुने उल्लेख गरेको छ । यसको अर्थ अहिले ईयूमा भइरहेको ग्यास आपूर्ति आधा कम हुनसक्छ । जर्मन सरकारले भने ग्यास आपूर्ति कटौती गर्नुपर्ने कुनै प्राविधिक कारण नरहेको बताएको छ ।
यो निर्णयले युरोपेली सङ्घका देशहरूलाई जाडो महिनाअघि उनीहरूका भण्डारणमा ग्यास जोहो गर्न थप कठिन बनाउने देखिएको छ । नर्ड स्ट्रिम–१ पाइपलाइनले रुसबाट जर्मनीसम्म ग्यास पुर्याउँछ।
तर यसबाट केही साताअघिबाटै क्षमता भन्दा कम मात्रामा ग्यास आपूर्ति भइरहेको छ। यही महिनाको सुरुमा मर्मतका लागि यो पाइपलाइन १० दिन पुरै बन्द गरिएको थियो ।
रुसले गत वर्ष ईयूका देशहरूमा उसको ४० प्रतिशत ग्यास निर्यात गरेको थियो। इन्धनलाई हतियारको रूपमा प्रयोग गरेको आरोप ईयूले रुसमाथि लगाउँदै आएको छ।