काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माण गर्दा अर्थमन्त्रीले अनधिकृत व्यक्ति संलग्न गराएको प्रकरणको छानबिन नै नभएको दाबी गरेका छन् ।
मंगलबार तुलसीलाल अमात्यको २५औँ स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले यो प्रकरणमा छानबिन नै नभएको बताएका हुन् । उनले यो प्रकरणमा सत्ता गठबन्धनले गोरु पनि लजाउने काम गरेको टिप्पणी गरे ।
उनले भने, ‘नेपाली जनतालाई कतिसम्म हेपेको, नेपाली जनताको विवेक र नैतिक धरातलमा कत्रो हमला, गोरु पनि लजायो होला । भ्रष्टाचारको केस लागेको छ । छानबिन समिति आफ्नै बहुमत राखेर बनाएको छ । छानबिन गर्न दिएकै छैन, छानबिन भएकै छैन । कल डिटेल्स हटाएको छ । अनि सीसीटीभीको रेकर्ड मेटाइएको छ । रिभाइभ गर्दा देखिँदैन, बुझिँदैन । अनि सफाइ पायो कि सफाइ पायो, कहाँबाट सफाइ पायो ?’
गठबन्धनले जे गरे पनि हुन्छ भनेर उही मान्छेलाई अर्थमन्त्री बनाएको ओलीको आरोप थियो । अध्यक्ष ओलीले कांग्रेसलाई प्रजातान्त्रिक भन्ने गरिएकोमा असन्तुष्टि जनाउँदै कांग्रेसको नाममा पनि प्रजातान्त्रिक नभएको र व्यवहार पनि प्रजातान्त्रिक नभएको तर्क गरे ।
उनले भने,‘प्रजातान्त्रिक भनेको के बुर्जुवा भनेको हो? रियाक्सनरी भनेको हो? रियाक्सनरीको पर्यायवाची हो प्रजातान्त्रिक भनेको? त्यसैले नेपाली कांग्रेसले आफूलाई प्रजातान्त्रिक हुँ भन्छ भने प्रजातान्त्रिक आचरण देखाओस्।’