
काठमाडौं । शंकास्पद व्यक्ति विमान रहेको सूचनाका कारण रोकिएको नेपाल एयरलाइन्सको जहाज दुई घण्टापछि भारतको मुम्बई उडेको छ । बुधबार दिउँसो १ः१० बजे मुम्बई उड्ने तालिका रहेको निगमको न्यारोबडी जहाज उडान भर्न ढोका बन्द गरिसकेको अवस्थामा रोकिएको थियो । जहाजमा शंकास्पद व्यक्ति सवार रहेको सूचनापछि सबै यात्रुलाई ओरालेर चेकजाँच गरिएको थियो ।
प्रहरीले मुम्बई जान लागेका कैलालीका सन्तोष लामिछानेलाई जहाजबाटै पक्राउ गरेको हो। उनी आफ्नी श्रीमतीसँग मुम्बई जान लागेका थिए । प्रहरीका अनुसार पक्राउ परेका सन्तोष गहना व्यवसायी हुन्। कैलालीमा गहना पसल चलाउँदै आएका उनी चोरी तथा तस्करीको सुन किनेर बिक्री गर्ने कार्यमा संलग्न थिए। जिल्ला प्रहरी कार्यालय कैलालीको खोजी सूचीमा रहेका उनी काठमाडौंबाट मुम्बई उड्न लागेको सूचना प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोमा आइपुगेको थियो ।
कैलाली प्रहरीको सूचनाअनुसार नै बिशेष ब्यूरोको टोली सन्तोषलाई पक्राउ गर्न विमानस्थल पुगेको थियो । शंकास्पद व्यक्तिको पक्राउपछि विमानमा सवार अन्य यात्रुको पनि पुनः सुरक्षा जाँच गरिएको नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । पुनः सुरक्षा जाँच गरी बोर्डिङ गर्दा २ घण्टाको समय लागेको र अहिले जहाज मुम्बई प्रस्थान गरिसकेको उनले बताइन् ।