
युक्रेनको जापोरीजा परमाणु ऊर्जा केन्द्रमा थप बमबारी भएका छन् । परमाणु केन्द्रमा गरिएको आक्रमणमा रुस र युक्रेन दुवैले एक अर्कालाई आरोप लगाएका बीबीसीले जनाएको छ । युरोपकै सबैभन्दा ठूलो ऊर्जा उत्पादन केन्द्रको कार्यालय र अग्नि केन्द्रमा १० वटा प्रहार भएको युद्धरत दुवै पक्षले बनाए ।
यस विषयमा छलफलका लागि संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा पनि छलफल भइरहेको छ। राष्ट्रसङ्घको परमाणु निगरानी निकाय प्रमुख रफाएल ग्रोसीले आक्रमणलाई गम्भीर समय भएको बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले घटनाले विपत्ति निम्त्याउन सक्ने बताए । रुसले विश्वकै सबैभन्दा खराब आणविक दुर्घटना निम्त्याउन खोजिरहेको आरोप युक्रेनले लगाएको छ।
यो परमाणु ऊर्जा केन्द्र गत मार्चयता रुसको कब्जामा छ । बुधबार औद्योगिक राष्ट्रहरूको समूह जी सेभेनका विदेश मन्त्रीहरूको बैठकले उक्त ऊर्जा केन्द्रको नियन्त्रण रुसले तत्काल युक्रेनलाई फिर्ता गर्नुपर्ने बताएको थियो ।
अमेरिकाले पनि यो ऊर्जा केन्द्रलाई गैरसैनिक इलाका घोषणा गरिनुपर्ने माग गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले परमाणु केन्द्र नजिक युद्ध हुनु भनेको खतराजनक र गैरजिम्मेवार काम भएको बताए ।
मध्यपूर्वी युक्रेनमा रहेको यो केन्द्रमा गत साता पनि आक्रमण भएको थियो र आक्रमणमा दुवै देशले एक अर्कालाई आरोपित गरेका थिए । युक्रेनले उक्त केन्द्रमा रुसले सैन्य अखडा बनाएको र प्रतिकार गर्न नमिल्ने भएकाले त्यहाँबाट आक्रमण गरिरहेको आरोप लगाएको छ। तर मस्कोले यसको खण्डन गरेको छ।