काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र नेताहरुलाई मिलाउनु आफ्ना लागि चुनौतिपूर्ण रहेको बताएका छन् ।
शनिबार पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीका नेताहरु एकले अर्कोलाई खुट्टा तानातान गरिरहेकाले मिलाउनु चुनौतिपूर्ण रहेको बताएका हुन् ।
उनले नेताहरु मात्रै मिलाउन सक्ने र एक ढिक्का भएर यो पार्टीलाई फेरि नेतृत्वमा स्थापित गर्न नेताहरु एक हुनुको विकल्प नभएको बताए ।
उनले भने, ’अध्यक्षको रुपमा नेताहरुलाई के गरी मिलाउने भन्ने चुनौती आजको सबैभन्दा ठूलो भएको मैले देख्छु। तराई मधेसमा यो बीचमा हजारौंको संख्यामा अरु पार्टीका बुद्धिजीवीहरु, नेता कार्यकर्ताहरु पार्टीमा प्रवेश गरेका छन् । हाम्रै पार्टीका नेताहरु एकले अर्कालाई के गरी खुट्टा तान्ने हो, के गरी हराउने हो भन्नेमा तँछाडमछाड, मारामार छ।’
उनले तराई–मधेसका नेताहरूमा विवाद रहेकाले स्थानीय तह निर्वाचनमा ५० ठाउँमा पराजित हुनुपरेको बताए । मधेसमा अरु पार्टीबाट माओवादीमा कार्यकर्ता र बुद्धिजीवी प्रवेश गरिरहँदा पार्टीका शीर्ष नेताहरू भने आपसमा लडाइ गरिरहेको भन्दै उनले असन्तुष्टि पोखे । प्रचण्डले देशभित्र वा बाहिर रहेका जनतामा माओवादी पार्टी र माओवादी नेतृत्वप्रतिको विश्वास र भरोसा नटुटेको बताए ।