
काठमाडौं । सोमबार उच्च अंकले बढेको शेयर बजार मङ्गलबार फेरि दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से मंगलबार २४ दशमलव ८३ अङ्कले घटेर दुई हजार ४१ दशमलव शून्य ६ विन्दुमा झरेको छ ।
सबै समूहको शेयर घटेकोमा विकास बैंक, जलविद्युत्, उत्पादन, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । मंगलबार दुई सय २१ वटा कम्पनीको ६४ लाख ६ हजार कित्ता शेयर दुई अर्ब ७३ करोड ४८ लाख रुपैयाँमा कारोबार भएको छ ।
सबैभन्दा धेरै रिडी हाइड्रोपावर कम्पनीको चार करोड ५२ लाख रुपैयाँको शेयर किनबेच भयो । आज युनिलिभर नेपाल, दोर्दी हाइड्रो र पञ्चकन्यामाई हाइड्रोको शेयर साढे पाँच प्रतिशतले घटेको छ ।
समग्रमा बजार राताम्मे भए पनि अपर हेवाखोला हाइड्रो कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।