
काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएको लामो समयपछि बुधबारदेखि सिफारिस समितिले काम सुरु गरेको छ । बुधबार महाभियोग समितिको पहिलो बैठक बसेको छ ।
बैठकमा समितिका सदस्यहरूले महाभियोग प्रक्रिया टुंग्याउनुपर्ने बताएका छन् । महाभियोग प्रक्रियामा ढिलाइ भएको भन्दै एमाले सांसदहरूले आपत्ति जनाएका छन् । एमाले सांसद कृष्णभक्त पोखरेलले एक महिनाभित्र यसलाई टुंगोमा पुर्याउने गरी कार्यविधि र कार्यतालिकालाई साथमा राखेर जानुपर्ने बताए ।
उनले आफूहरुको कार्यकाल तीन महिना पनि नभएकाले एक महिनाभित्रै सक्नेगरी अगाडि बढ्नुपर्ने बताए । उनले एमाले छानबिनका क्रममा जे देखिन्छ त्यही हुनुपर्ने पक्षमा रहेको बताए ।
उनले यसमा पूर्वाग्रह राख्न नहुने बताए । उनले भने, ‘हामीलाई चोलेन्द्र शम्सेरलाई महाभियोग ठहर्नै पर्छ भन्ने छैन । ठहर्नै हुन्न भन्ने पनि छैन । दोषी भए दोषी निर्दोष भए निर्दोष भन्न तयार छौं ।’
सांसद शिवमाया तुम्बाहाङ्फेले यो महाभियोग प्रस्तावलाई लामो समयसम्म समितिलाई नदिएको भन्दै आपत्ति जनाइन् । उनले संसद्को अवधि सकिने समयमा दिनुले यसको सन्देश राम्रो नगएको बताइन् ।
त्यसैगरी बैठकमा सांसद लालबाबु पण्डितले महाभियोग प्रस्ताव निर्वाचन घोषणा भइसकेपछि समितिमा पठाइएको भन्दै आपत्ति जनाए ।
उनले भने, ‘महाभियोग प्रस्तावमा जसजसले हस्ताक्षर गर्नुभयो निष्कर्षमा पुर्याउने जिम्मेवारी उहाँहरूको हो । गठबन्धनसँग अर्को विकल्प पनि हुनसक्छ । यसमा फसियो । चुनाव सार्ने नीति त लुकेको छैन ? चुनाव सार्ने नियत लुकेको छ भने एउटा गल्ती छोप्नको निम्ति अर्को गल्ती गर्न पछि नपर्ने हो कि ?’
जबराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले फागुन १ गते प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा परेका थिए । साउन २२ गतेको प्रतिनिधिसभा बैठकले जवराविरुद्धको महाभियोगलाई सिफारिस समितिमा पठाएको थियो ।
महाभियोग सिफारिस समितिमा एमालेका विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, कृष्णभक्त पोखरेल गरी चार सदस्य छन् । कांग्रेस र माओवादीबाट २/२ सदस्य छन् ।
जसमा कांग्रेसका मिनबहादुर विक र रामबहादुर विष्ट हुन् भने माओवादी केन्द्रका यशोदा सुवेदी र रेखा शर्मा हुन् । एकीकृत समाजवादीकी कल्याणी खड्का, लोकतान्त्रिक समाजवादीका एकवाल मियाँ र जनता समाजवादीका प्रमोद साह सदस्य छन् ।