
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूलाई जापोरिजा परमाणु केन्द्रमा अनुगमनका लागि अनुमति दिइने बताएका छन् ।
पुटिन र फ्रान्सेली राष्ट्रपति एमानुअल माक्रोँबीच फोनवार्ता भएपछि क्रेमलिनले त्यस्तो घोषणा गरेको हो । यसअघि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले बीबीसीलाई उक्त प्लान्टको अवस्थाबारे आफू चिन्तित रहेको बताएका थिए ।
उनले जापोरिजा वरपर सैन्य गतिविधिहरू अन्त्य हुनुपर्ने भन्दै मस्कोलाई अनुगमनकर्तालाई प्रवेश दिन आग्रह गरेका थिए । मार्च महिनाको सुरुदेखि त्यस क्षेत्र रुसको नियन्त्रणमा छ । तर युक्रेनी प्राविधिकहरू अझै त्यहाँ रुसीहरूको निर्देशनमा काम गरिरहेका छन्।
फ्रान्सेली र रुसी नेताहरूबीचको कुराकानीपछि जारी विज्ञप्तिमा क्रेमलिनले उक्त केन्द्रमा पहुँचका लागि राष्ट्रसङ्घीय निगरानीकर्ताहरूलाई आवश्यक सहायता गर्न पुटिन सहमत भएको जनाएको छ।
दुवै नेताहरूले अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय आईएईएका विज्ञहरूलाई पठाएर त्यहाँको वास्तविक अवस्थाको मूल्याङ्कन गर्ने काम महत्वपूर्ण हुने बताएको क्रेमलिनले जनाएको छ । राष्ट्रसङ्घीय परमाणु निगरानीकर्ता निकाय आईएईएका महानिर्देशकले पुटिनको वक्तव्यको स्वागत गर्दै सो प्लान्टमा जाने टोलीको नेतृत्व आफैले गर्न खोजेको जनाएका छन्।
युक्रेनी अधिकारीहरूले उक्त परिसरलाई रुसले सैन्य आधारको रूपमा प्रयोग गरिरहेको बताएका छन् । किएभले त्यहाँ सैन्य उपकरणहरू, हतियार र झण्डै ५०० को सङ्ख्यामा सैनिकहरू तैनाथ गरेको जनाएको छ । ती फौजले केन्द्रलाई ढाल बनाएर निपर नदीसँगै रहेका नगरहरूमा हमला गरिरहेको युक्रेनी अधिकारीहरूको भनाइ छ।