
युक्रेनको विशेष सुरक्षा दस्ताले राष्ट्रपति भ्लादिमिर पुटिनका एक सहयोगीकी छोरीलाई गत साताको अन्त्यमा कार बम विस्फोट गराइ मारेको रुसले आरोप लगाएको छ ।
शनिबार रुसको राजधानी मस्कोनजिकै रहेको सवारी साधनमा विस्फोट हुँदा २९ वर्षीया डार्या डुगिनाको मृत्यु भएको हो । उनका चर्चित उग्रराष्ट्रवादी पिता एलेक्सेन्डर डुगिन राष्ट्रपति पुटिनको निकटवर्ती भएको बताइन्छ। उक्त आक्रमण डुगिन लक्षित भएको ठानिएको छ ।
यद्यपि, युक्रेनी अधिकारीहरूले भने विस्फोटमा आफ्नो कुनै पनि किसिमको संलग्नता नरहेको जनाएका छन् । तर रुसको सङ्घीय सुरक्षा सेवा एफएसबीले सोमबार यस मुद्दाबारे आवश्यक जानकारी सङ्कलन गरेको र त्यसमा युक्रेन प्रत्यक्ष जिम्मेवार रहेको बताएको छ ।
एफएसबीले रुसी सञ्चारमाध्यमलाई बताए अनुसार जुलाई महिनामा आफ्नी छोरीसँगै रुस पुगेकी एकजना महिला युक्रेनी विशेष सेवाकी मानिस थिइन् । तिनै महिलाले डुगिना रहने भवनमा एक महिनाको लागि एउटा अपार्टमेन्ट भाडामा लिएकी थिइन् र त्यहीँ रहेर आक्रमणको तयारी गरिएको जनाइएको छ ।
उनले डुगिनालाई मस्को हुँदै एउटा सानो खालको कारमार्फत पछ्याएको र त्यसका लागि उनले तीन वटा फरक लाइसेन्स प्लेटहरू प्रयोग गरेको आरोप छ । विस्फोटपछि सन्दिग्ध व्यक्ति इस्टोनिया भागेको एफएसबीको दाबी छ।