
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक राष्ट्रघाती भन्नु बेइमानीबाहेक केही नभएको टिप्पणी गरेका छन् ।
बुधबार बिहान चितवन पुगेका अध्यक्ष प्रचण्डले भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नागरिकता विधेयकलाई राष्ट्रघाती भन्नु बेइमानी र अनैतिकताबाहेक अरु केही नभएको बताएका हुन् । उनले एमालेले नागरिकता विधेयकका विषयमा गलत प्रचार गरिरहेको आरोप लगाए ।
उनले भने,‘आमाबाबु दुवै नेपाली भएका नागरिकका सन्तानले नागरिकता पाउने कुरा मात्रै हो अहिलेको विधेयकको मूल सार । नागरिकता नभएर झण्डै ६/७ लाख नागरिक सबै अवसरबाट बञ्चित भए। त्यो स्थितिको अन्त्य गर्नका लागि विधेयक ल्याइएको हो । त्यसकारण यसलाई राष्ट्रघाती भन्नु पाखण्डबाहेक केही हुँदैन।’
उनले केपी ओली प्रधानमन्त्री हुँदा ल्याइएको अध्यादेशलाई अहिले विधेयकका रूपमा ल्याइएको स्पष्ट पारे । उनले तत्कालीन नेकपा हुँदा राज्य व्यवस्था समितिबाट सात वर्षे वैवाहिकत अंगीकृतको प्रावधानसहित पारित भएको नागरिकता विधेयकलाई ओलीले नै अघि बढाउन नदिएको दाबी गरे ।
अहिले चुनाव नजिकिएका बेला एमालेले राष्ट्रवादको मुकुन्डो लगाएर भोट बटुल्नका लागि जनतालाई भ्रम पार्न गलत प्रचार गरिरहेको उनले बताए । संघीय संसद्का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेपछि प्रतिनिधिसभाबाट दोस्रोपटक पारित भएको छ । अब राष्ट्रिय सभाबाट पारित हुन बाँकी छ।