
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा काठमाडौं महानगरको टोली पुगेको छ । नियमविपरीत बनेका संरचना हटाउन शुक्रबार महानगरको टोली राहदानी विभाग पुगेको हो । राहदानी विभागले बेसमेन्टलाई पार्किङको लागि नभइ सेवाग्राहीलाई प्रतिक्षालयको रुपमा प्रयोग गरेको छ ।
महानगरका प्रहरीले त्यहाँ राखिएका कुर्सीहरु हटाएको छ । दैनिक २५ सय भन्दा धेरै सेवाग्राहीलाई सेवा दिँदै आएको राहदानी विभागले भने उनीहरुलाई बस्नको लागि ठाउँको अभाव भएकाले बेसमेन्टमा बस्ने व्यवस्था गरेको जनाएको छ । महानगरले नक्सा पास गर्दा उल्लेखित बाहेकका संरचना बनाएका वा प्रयोजनमा ल्याएका संरचनाहरु हटाउँदै आएको छ ।
बिहीबार बानेश्वरमा रहेको अल्फा बिटाको नियमविपरीत संरचना हटाएको थियो भने बुधबार काठमाडौ मल लगायत अरु क्षेत्रका नियम विपरीतका संरचना हटाएको थियो । महानगरले पार्किङको लागि भनेर बनाएका तर अन्य प्रयोजनमा प्रयोग भइरहेका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको थियो । तोकिएको अवधिसम्म पनि संरचना नहटाउँदा महानगर आफै ’एक्सन’ मा उत्रेको हो ।