
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतालाई नागरिकता दिने कुरामा आफ्नो पार्टी बाधक भयो भनेर सत्तारुढ गठबन्धनले भ्रम फिजाउने कोसिस गरिरहेको आरोप लगाएका छन् ।
विगतमा ६० वर्ष उमेर पुगेकाहरुलाई एमालेले मार्छ भनेर भ्रम छरे जस्तै अहिले पनि जनतालाई नागरिकता दिने कुरामा एमाले बाधक बन्यो भनेर भ्रम फैंल्याउने कोसिस सत्तारुढ दलहरुले गरिरहेको बताएका हुन् ।
अध्यक्ष ओलीले त्यसको खण्डन गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिए । उनले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने काम किन अल्झाएर राखेको ? भन्दै सरकारलाई प्रश्न समेत गरे ।
नेकपा एमाले जनताको हरेक समस्या समाधान गर्दै आएको र गर्ने पार्टी भएको उल्लेख गर्दै अध्यक्ष ओलीले नागरिकताको समस्या स्थायी रुपमा समाधान गर्न आफ्नो पार्टीले चाहेको बताए ।
उनले भने, ‘नेकपा एमाले जनताको हरेक समस्या समाधान गर्न चाहन्छ । जनताको समस्या समाधान गरी आएको पार्टी हो । एमाले नागरिकताको समस्या स्थायी रुपमा समाधान होस भन्ने चाहन्छ । अनि, एमालेकै विरुद्ध अहिले पनि भ्रम फिजाउन खोज्ने ? पहिलेपहिले जस्तै ६० वर्ष भन्दा माथिकालाई गोली हानेर मार्छ भनेर गाउँमा भनेजस्तै अहिले फेरि अर्को खालको भ्रम फिजाउन खोज्ने ? त्यसकारण गठबन्धनको यस्ता कपटपूर्ण खालको दुष्प्रचारहरु गठबन्धनले गर्छ भने हामीले त्यसको जोडदार खण्डन गर्नुपर्दछ । हामी नागरिकताको स्थायी समाधान चाहन्छौं ।’
अध्यक्ष ओलीले आफ्नो पार्टीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन जित्नैपर्ने बताए ।