
बाढीले देशभर भीषण क्षति पुर्याएपछि पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि अपील गरेको छ । अमेरिका, बेलायत, संयुक्त अरब एमिरेट्स र अरू देशहरूले यस्तो अपील अन्तर्गत सहयोग उपलब्ध गराएका छन् तर आन्तरिक मामिला मन्त्रालयका एक अधिकारीले अझ धेरै स्रोतको आवश्यकता रहेको बताएका छन् ।
यो वर्ष जुनयता बाढीका कारण पाकिस्तानमा एकहजार भन्दा बढी मानिसको ज्यान गएको छ भने दशौँ हजार विस्थापित भएको सल्मान सुफी बताउँछन् । उनले पाकिस्तानको सरकारले मानिसहरूलाई आफ्नो सामर्थ्यले भ्याएसम्म सहयोग गरिरहेको पनि बताए ।
देशको उत्तरपश्चिममा अवस्थित खैबर पक्तुन्वा प्रान्तमा नदीका तटबन्धहरू भत्किएपछि शक्तिशाली बाढी आउँदा कैयौँ मानिस विस्थापित भएका छन् । हजारौँ मानिसहरू आफ्ना घरबाट भागेका विवरण छन् । दक्षिण पूर्वमा अवस्थित सिन्ध प्रान्तमा पनि हजारौँ मानिसहरू विस्थापित भएका छन् ।
उक्त प्रान्तमा बाढीले निम्त्याएको विध्वंसको पूर्ण स्तर अझै पनि बुझ्न नसकिए पनि स्थानीय बासिन्दाले त्यो उनीहरूले आफ्नो जीवनमा भोगेको सबैभन्दा खराब विपद् भएको बताइरहेका छन् । पाकिस्तानका लागि बाढी नौलो होइन तर यहाँका मानिसहरूले यसपालिको वर्षा फरक भएको बताएका छन्।