काठमाडौं । नेकपा एमालेले सरकारको नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघलाई त्रिभुवन विश्वविद्यालयमा संरक्षित गुण्डागर्दी गर्न छुट दिएको भन्दै आपत्ति जनाएको छ ।
सोमबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले त्रिभुवन विश्वविद्यालया नेविसंघले गरेको गुण्डागर्दीका सम्बन्धमा सरकारको जवाफ माग गरेका हुन् ।
उनले भने,‘त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री वालकृष्ण खाँणले नेविसंघको नेतृत्व गर्नुभएको थियो । पञ्चायतको समयमा उहाँहरूलाई मण्डलेले आक्रमण गरेका थिए । नेविसंघलाई अहिले त्यही अवतारमा उतार्न खोजेको हो ?’
ज्ञवालीले त्रिविमा भइरहेको आन्दोलनका सम्बन्धमा कुलपति समेत रहेका प्रधानमन्त्रीको मौनता रहस्यमय रहेको टिप्पणी गरे । उनले भने,‘विश्वविद्यालयको कार्यालय बूढानीलकण्ठ लैजान लगिएको हो कि ? यो विषयमा कुलपतिले जवाफ दिनुपर्छ ।
जवाफ नदिँदासम्म सदनको कारवाही अगाडि बढ्न सक्दैन ।’ एमालेले संसद्मा रुलिङ गर्न माग गरेपछि सभामुख अग्नि सापकोटाले विश्वविद्यालयको समस्या समाधान गर्न सरकारलाई रुलिङ गरेका छन् ।