
काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले विद्युत निर्यातले देशको व्यापार घाटा कम गर्न महत्वपूर्ण योगदान रहने बताएकी छन् ।
मंगलबार नेपाल विद्युत प्राधिकरणले काठमाडौंको रत्नपार्कमा सञ्चालनमा ल्याएको चार्जिङ स्टेसनको उद्घाटन गर्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् । मन्त्री भुसालले देशले विद्युतको क्षेत्रमा ठूलो क्रान्ति गरिरहेको बताइन् ।
मन्त्री भुसालले यातायात सञ्चालनको लागि विदेशबाट डलर खर्च गरेर करिव ३ खर्बको डिजेल र पट्रोल आयात हुने अवस्थालाई अब उत्पादित विद्युत खपत बढाउने एक मात्रै माध्यम विद्युतीय यातायातको विकल्प नभएको बताइन् ।
उनले पछिल्लो एक वर्षमा विद्युत खपत २२ प्रतिशतले बढेपनि विद्युतीय यातायातको सोच जस्तो विकास नभएको बताइन् । यो चार्जिङ स्टेसनको क्षमता ६० किलोवाटका दुईवटा डिसी र २२ किलोवाटको एसी गन रहेका छन् । १२० किलोवाट डिसीसम्म पनि सिंगल डिसी गनले गाडीहरु चार्ज गर्न सक्छ ।
२६ वटा ठूला बस माइक्रो, ट्रक, पिकअप तथा कारका लागि र २५ वटा साना ठूला कारहरुका लागि मिल्ने चार्जर रहेको छ। नेपालमा उपलब्ध सवारीसाधनहरुमा रहेको ब्याट्रीको क्षमता अनुसार कम्तीमा आधा घण्टादेखि एक घण्टासम्ममा फुल चार्ज हुने बताइएको छ ।
चार्ज गर्दा कारहरुका औसत ७० पैसा, एसयुभीहरुमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसहरुमा एक रुपैयाँ २० पैसा प्रतिकिलोमिटर खर्च लाग्नेछ। समय अनुसार इनर्जी शुल्क फरक फरक रहेको छ।
मझौला भोल्टेज (३३ केभी)को पिक (साँझ ५ देखि राति ११ बजेसम्म) ८.४० रुपैयाँ, अफ पिक राति ११ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म ४.४५ रुपैयाँ, अन्य (बिहान ५ देखि साँझ ५ बजेसम्म) ६.६० रुपैयाँ प्रतिकिलोवाट घण्टा (युनिट) पर्छ।
मझौला भोल्टेज (११ केभी) मा पिक (साँझ ५ देखि राति ११ बजेसम्म) ८.६० रुपैयाँ, अफ पिक राति ११ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म ५.०५ रुपैयाँ, अन्य (बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म) ६.७० रुपैयाँ युनिट पर्छ ।
चार्जिङ स्टेसन सञ्चालकले विद्युतीय सवारीसाधनलाई चार्जिङ सेवा दिए बापत २० प्रतिशत किलोवाट घण्टा थप गरि लिन पाउने व्यवस्था छ। प्राधिकरणले देशका विभिन्न ३२ स्थानमा ५० वटा विद्युतीय सवारीसाधन चार्जिङ स्टेसन निर्माणको काम धमाधम गरिरहेका छ। पाँच स्थानमा तयार भएको छ। बल्खु, साझा,खुर्कोट लगायतका स्थानमा तयार भएको छ।