
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले महाभियोग सिफारिस समितिमा बिहीबार थप दुई वटा प्रश्नको जवाफ दिएका छन् । जबराले थप दुई वटा प्रश्नको जवाफ दिएपछि समितिको बैठक भदौ १९ गतेसम्मका लागि स्थगित भएको समितिका सभापति रामबहादुर विष्टले जानकारी दिए ।
बिहीबारको बैठकमा जबराले प्रधानन्यायाधीशको कार्यक्षमता, न्यायिक मूल्य मान्यता समाप्त गरेको भन्ने आरोपको जवाफ दिएका छन् । जबराले प्रधानन्यायाधीश असक्षम र पूर्णतः विफल हुन पुगेको भन्ने आरोपको कुनै औचित्य नभएको बताए । उनले समितिको प्रश्नमाथि नै प्रश्न उठाएपछि समितिमा सदस्यहरुले आपत्ति जनाएका थिए । समिति सदस्य कल्याणी खड्काले जबराको उत्तरले समितिमाथि नै प्रश्न उठाएको भन्दै विरोध गरिन् ।
जबराले भने,‘मैले संवैधानिक र तत्कालीन प्रमाणबारे बोलेको हुँ, कसैलाई आरोप लगाएको होइन।’ जबराले महाभियोग प्रस्ताव गर्नेहरू नै समितिमा बसेको भन्दै प्रश्न उठाएका छन् । बुधबार जबरालले जवाफ दिने क्रममा आफूमाथि लागेको आरोपको खण्डन गर्नुको सट्टा नेता र न्यायाधीशमाथि आरोप प्रत्यारोप गरेका थिए ।
उनले बहालवाला कामु प्रधानन्यायाधीश दीपक कार्की, न्यायाधीश, पूर्वप्रधानन्यायाधीशका साथै अधिवक्ताहरु स्वार्थका लागि आफूविरुद्ध लागेको बताएका थिए । गत फागुन १ गते जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिधिधिसभामा महाभियोग दर्ता भएको थियो। जबरामाथि न्यायपालिका जगेर्ना गर्न असक्षम रहेको, अदालतमा विचौलिया र भ्रष्टाचारलाई बढावा दिएको, इजलास बाहिर बोल्दै न्याय प्रक्रियामा अवरोध सिर्जना गरेको, सरकार प्रमुखसँग मन्त्री पदका लागि ‘बार्गेनिङ’ गरेको लगायत आरोपहरु लागेका छन् ।