सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन दलहरुबीच सन्तुलन हुनेगरी सिट बाँडफाँटको विषय टुंग्याइने बताएका छन्।
शुक्रबार पार्टीको प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न सुर्खेत आएका अध्यक्ष प्रचण्डले पत्रकाहरुसँग कुरा गर्दै दलहरुबीच सिट संख्याको कुरा लगभग सहमतिमा पुगेको बताए ।
उनले भने, ‘अहिले गठबन्धनभित्रका दलबीच संघको सिट एउटाले लिएमा प्रदेशको अर्कोलाई दिएर भोट ट्रान्सफर हुने वातावरण बनाउँदैछौं, १६५ निर्वाचन क्षेत्रका प्रदेशका सिटलाई सन्तुलन मिलाएर जाने हो।’ उनले हालसम्म गठबन्धनभित्र कुनै पनि असहमति नभएको बताए। गठबन्धनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा दलहरुबीच छलफल भइरहेको बताए ।
उनले भने, ‘हामी गठबन्धनभित्रका दलहरुमध्ये एक्लै जित्ने प्रभाव भएका ठाउँहरुमा पनि गठबन्धनका पार्टीलाई समायोजन गरेर लिने कुरामा हाम्रो जोड छ, यसले मात्र परिणाम राम्रो ल्याउन सकिन्छ भन्ने टुंगोमा पुगेका छौं।’ उनले अहिले पनि स्थानीय तहजस्तै आ–आफ्नो चुनाव चिन्ह लिएर निर्वाचनमा गठबन्धनभित्रका दलहरु जाने र निर्वाचनको घोषणापत्र एउटै बनाउने तयारी भईरहेको बताए।
आफू राष्ट्रपति बन्ने हल्ला निराधार भएको उनले बताए । प्रचण्डले एमाले नेता रामबहादुर थापा (बादल) सँग आफ्नो कुनै तुलना नहुने भन्दै उनले चितवन ३ बाटै चुनाव लड्ने बताए । उनले एमालेसँग तत्काल एकताको सम्भावना नरहेको बताए । उनले भने, ‘एमालेसँग तत्काल एकता हुने कुरा छैन, विगतका गतिविधिको आत्मसमीक्षा गरेर क्लियर नभएसम्म एमालेसँग एकताको कुरा आउँदैन।’