
गण्डकी । कोरोना कहरका कारण दुई वर्षसम्म प्रभावित अन्नपूर्ण आधार शिविरको पदयात्रा आगामी दिनमा भने बढ्ने आशा जागेको छ । पदयात्राको मुख्य याम आइरहँदा यतिखेर बेलायत, अष्टेलिया लगायतका स्थानबाट अग्रिम बुकिङ हुन थालेपछि व्यवसायी पनि उत्साहित बनेका छन् ।
आगामी यामका लागि अग्रिम बुकिङहरू आउन थालेको छोम्रोङ पर्यटन व्यवसायी समितिका सचिव दिलीप गुरुङले जानकारी दिए । पछिल्लो समयमा अन्नपूर्ण आधार शिविरको पदयात्राका लागि बस्न खान उपयुक्त सुविधा सम्पन्न पूर्वाधारहरू बनिरहेको बताउँदै उनले यहाँ आउने पर्यटक सहज रुपमा यस क्षेत्रको पदयात्रा गर्न सक्ने जानकारी दिए ।
चार दशक अघिसम्म यस क्षेत्रको पदयात्रा गर्नका लागि यहाँका भेडी गोठका साथै स्थानीयवासीले बनाएका चित्रा वा झकारीले बारेका झुपडीमा बस्नुपर्ने बाध्यता रहेकामा अहिले भने सुविधा सम्पन्न होटल बनेको र वर्षेनी पूर्वाधार थपिने क्रम बढीरहेको उनले जानकारी दिए ।
हाल सिनुवाभन्दा माथि नयाँ सात वटा होटल थपिइसकेका छन् भने अन्य चारवटा बन्ने क्रममा छन् । कोरोना कहर अघिसम्म पर्यटकको राम्रो चाप हुने गरेको यस पदयात्रा मार्गमा आगामी दिनमा पदयात्रा पर्यटन पूर्ववत् अवस्थामा फर्कने आशा गरिएको छ । उक्त क्षेत्रका पर्यटन व्यवसायी पनि पदमार्गलाई थप व्यवस्थित गर्नेतर्फ सक्रिय बनेका छन् ।